प्रस, वीरगंज, १७ माघ/
बहुदरमाई नगरपालिकाको विवाद साम्य पारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफासहित बिहीवार काठमाडौंस्थित मन्त्री गुप्ताको निवासमा छलफल भएर समस्याको टुङ्गो लगाइएको हो ।
साउनदेखि विवादको कारण बहुदरमाई नपाको नगर अधिवेशन हुन सकेको थिएन । पछि सहमति भएपश्चात् कात्तिक ८ गते नगरसभा भएपनि प्रमुख प्रशासकीय अधिकृत मुस्तुफा र नगरप्रमुख सिंहासन साह तेलीबीच विवाद चुलिएकोले नगरप्रमुख तेलीले नगरसभाको प्रमाणीकरण रोकेका थिए । उनले नगरसभाको प्रमाणीकरण गरेपछि मात्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाता सञ्चालनको स्वीकृति दिने प्रचलन रहेको छ ।
नगरप्रमुखले नगरसभाको प्रमाणीकरण नगर्दा अहिलेसम्म गापाको खाता सञ्चालनमा आउन सकेको थिएन । नगरप्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाको सरुवा नहुन्जेल प्रमाणीकरण नगर्ने अडान लिएका थिए भने उपप्रमुख सुषमा कुशवाहासहितको बहुमत कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्न दबाब दिंदै आएका थिए ।
यसै विषयलाई लिएर बहुदरमाई नपामा बेथिति बढेको थियो र विद्यार्थीहरूले पनि अद्र्धवार्षिक परीक्ष्Fा नलिएको भन्दै नगरपालिकामा तोडफोड, आगजनी गरेर लाखौंको क्षति पु¥याएका थिए । पछिल्लो समयमा नेपाल शिक्षक महासङ्घ, पर्साले बहुदरमाई नपा अन्तर्गतका सामुदायिक विद्यालयका कर्मचारी, शिक्षकहरूले तलब नपाएको भन्दै आन्दोलन गरेको थियो र त्यहाँको विद्यालय डेढ सातादेखि बन्द गरिएको थियो ।
दुई पक्षीय अडानमा खानेपानीमन्त्री यादव नगरप्रमुखको पक्षमा र सङ्घीय मामिलामन्त्री गुप्ता उपप्रमुख कुशवाहाको पक्षमा खडा हुँदा समस्या बल्झिएको थियो । नगरप्रमुख तेली, जसपा पर्साका सभापति पनि हुन् भने उपप्रमुख कुशवाहा एमालेबाट निर्वाचित र मन्त्री गुप्ता पनि सोही पार्टीका हुन् ।
दुई मन्त्रीबीचको अडानका कारण बहुदरमाई नपाको विवाद झन्झन् बढदै गएको र आर्थिक कारोबार नहुँदा कर्मचारी, शिक्षकले तलब नपाएका, ठेकेदारहरूले भुक्तानी नपाउँदा विकास निर्माणलगायत आर्थिक कारोबार ठप्प भएको थियो । दुई मन्त्रीबीचको रस्साकस्सीको कारण सिर्जित समस्यालाई आज दुवै मन्त्री बसेर टुङ्गो लगाएका हुन् । मन्त्री गुप्ताले नगरप्रमुख तेलीले नगरसभालाई प्रमाणीकरण गरेको र केही दिनमा बहुदरमाई नपाको खाता सञ्चालनमा आउने तथा एक दिनका लागि भएपनि प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले कर्मचारी, शिक्षकहरूको तलब वितरण गर्ने र उनको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएर बाँकी काम सम्पन्न गर्ने सहमति भएको बताए । सोही अनुसार शुक्रवार अथवा आइतवार खाता सञ्चालनमा आउने र प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले तलब वितरण गरेर उनको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी लिने सहमति भएको छ ।