प्रस, वीरगंज, १६ माघ/
नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं २ ले बुधवार शहीद दिवसको अवसरमा १० जनालाई सम्मान गरेको छ ।
लोकतन्त्र, मानव अधिकार र समाजसेवामा महŒवपूर्ण योगदान पु¥याएका नगेन्द्र पौडेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मणप्रसाद कुर्मी, लालन महमद मियाँँ, जमिला खातुन, पार्वती देवी, नेत्रबहादुर केसी र हीराकान्त चौधरीलाई आज सम्मान गरेको हो ।
नेका क्षेत्रीय सभापति महमद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षत्री, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगंज उपमहानगरका उपप्रमुख इम्तियाज आलम, नेका पर्साका उपसभापति रामनारायण कुर्मीलगायतको सहभागिता थियो । शहीद दिवसको अवसरमा नारायणी अस्पतालमा रहेको शहीद थीरबम मल्ल र वीरगंज–१४ बहुअरीस्थित शहीद तेजबहादुर अमात्य तथा बिपी उद्यानस्थित मधेसी शहीदहरूका सालिकमा माल्यार्पण गरिएको थियो ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंजको घण्टाघरस्थित मधेसी शहीद स्मारकमा श्रद्धाञ्जलिसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शहीदको ऋण तिर्न इमानदारीपूर्वक काम गर्नुपर्ने बताए । उनले शहीदहरूको सपना पूरा नहुनुमा सबैभन्दा बढी जिम्मेवार राजनेता र कर्मचारी रहेको आरोप लगाए ।
प्रजिअ अर्यालले शहीद स्मारकमा शहीदहरूका अगाडि शपथ लिएर इमानदारीपूर्वक काम गरेमा शहीदको सपना पूरा हुने बताए । उनले राजनीतिक दलहरूले मतदाता, कार्यकर्ता भनेर विभेद गर्न नहुने र कर्मचारीहरूले पनि सबै सेवाग्राहीप्रति समान व्यवहार गर्नुपर्ने बताए । उनले व्यापारीहरूले पनि सरकारलाई तिर्ने राजस्वमा हेराफेरी नगर्न सुझाए । समाजका सबै तह र तप्काका व्यक्तिहरूले इमानदारीपूर्वक काम गरेको खण्डमा शहीदहरूले दिएको बलिदानीको सम्मान हुने बताए ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले शहीदहरूले देश समृद्ध बनाउन, सबैखाले विभेद हटाउन र समुन्नत समाज निर्माणका लागि आफ्नो प्राणको आहुति दिएको बताए । उनले हालको अवस्थाले शहीदहरूको सपना साकार हुनेमा आशङ्का देखिएको र यसमा सुधार आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रहरी उपरीक्षक गौतम मिश्रलगायतको सहभागिता थियो ।