प्रस, वीरगंज, १६ माघ/
जनस्वास्थ्य प्रवद्र्धन शाखा, वीरगंजले वीरगंज महानगरपालिका–६ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा छलफल गरेको छ । एचभिपी खोप लक्षित वर्गसम्म पु¥याउन सबै निकायको सहयोग अपरिहार्य रहेको भन्दै छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
बैठकमा वडाध्यक्ष जयप्रकाश शाह अग्रवालले वीरगंज महानगरपालिकामा माघ २२ गतेदेखि शुरू हुने एचभिपी खोप अभियान फागुन ६ गतेसम्म चल्ने जानकारी गराए । खोप अभियान सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको तथा सबैले आआफ्नो स्तरबाट सूचना प्रवाह गर्नुपर्ने बताए ।
वडाध्यक्ष अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सेवा केन्द्रका अहेब अकलेश गिरी र अनमी सरीता साहले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबारे जानकारी गराउँदै त्यसको जोखिमबाट किशोरीहरूलाई बचाउन एचपिभी खोप प्रभावकारी रहेको बताए । खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइने अहेब गिरीले जानकारी गराए । बैठकमा वडासचिव गङ्गा पौडेल, सहायक प्रधानाध्यापक अवनीश पाण्डे, शिक्षक राजीवकुमार सिंह, वडा सदस्य सुशीला परियार, राजु खड्गी, पवन शर्मालगायतको सहभागिता थियो ।