प्रस, वीरगंज, १५ माघ/
मधेस प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पर्सा र बाराका आठवटा पोखरी सौन्दर्यीकरणका लागि ठेक्का पाएका ठेकेदारहरूले काम गरेकाबापतको रकम माग गर्न थालेपछि अहिले पूर्वाधार कार्यालयमा तनाव फिंजिएको छ ।
केही दिनअगाडि जिल्ला प्रशासन कार्यालय, पर्साले पर्सामा सो अभियान अन्तर्गत अलपत्र योजनाहरूको पहिचान तथा अधूरो निर्माण कार्यका कारणबारे आयोजित बैठकमा ठेकेदारहरूले प्रश्न उठाएका छन् । ठेकेदारहरूले काम गर्न इच्छुक भएपनि प्रदेश सरकारले रकम पनि नपठाउने र म्याद पनि नथप्नु मुख्य समस्या भएको बताएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत वीरगंज महानगर–१६ को नगवा पोखरीको सौन्दर्यीकरण गर्न रु १० करोड एक लाख ३० हजारमा परेरा/रञ्जन जेभी, ललितपुरले सन् २०१९ जून ५ मा ठेक्का सकार गरेर सम्झौता गरेको थियो । सम्झौता गरे अनुसार गत २०७८ वैशाख १४ मा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म यो पोखरीको कार्यप्रगति केवल ३९.७४ प्रतिशत मात्र रहेको छ ।
यो एउटा उदाहरण हो, यस्तै अन्य योजनाहरू पनि अलपत्रमा परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नै सक्रियतामा गरेको बैठकमा ठेकेदारहरूले रकम अभावमा आफूहरूले निर्माण कार्य सम्पन्न गर्न नसकेको बताए । भौतिक पूर्वाधार कार्यालय, पर्साका प्रमुख लालबाबू रायले निर्माण कार्य सम्पन्न गर्न ठेकेदारहरू इच्छुक भएपनि रकम निकासा नभएको बताए । उनले विगत दुई वर्षदेखि ती सबै योजनाका लागि प्रदेश सरकारले एक सुको पनि नपठाएको बताए । नगवा पोखरीमा अहिलेसम्म तीन करोड ९७ लाख सात हजार ५७६ रुपैयाँ खर्च भइसकेको उनले बताए ।
यसैगरी, सोही समयमा वीरगंज महानगर–१२ मुर्ली पोखरीको सौन्दर्यीकरणको लागि १० करोड ४३ लाख १७ हजार रुपैयाँमा परेरा/रञ्जन जेभी, ललितपुरले नै ठेक्का सकार गरेको थियो । यो ठेक्काको सम्झौता अवधि पनि २०७८ वैशाख १४ मा सकिसकेको छ । तर कार्यप्रगति ६७.८५ प्रतिशत मात्र छ भने सात करोड सात लाख एक हजार ५६० रुपैयाँ खर्च भइसकेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा इशरा पोखरीको सौन्दर्यीकरणको लागि सन् २०१९ डिसेम्बर ३० मा आरजे/रञ्जन जेभी, मिर्जापुर, पर्साले छ करोड ९४ लाख तीन हजार १९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो सम्झौताको अवधि पनि २०७८ वैशाख १४ मा सकिएको छ । तर यसको कार्यप्रगति भने केवल २८.४ प्रतिशत मात्र छ । ठेकेदार कम्पनीले सो कार्यबापत एक करोड ९९ लाख ६८ हजार ९७८ रुपैयाँ भुक्तानी लिइसकेको छ ।
पर्साको छिपहरमाई गाउँपालिकास्थित छिपहरमाई पोखरीको सौन्दर्यीकरणको लागि परेरा/रञ्जन जेभी, ललितपुरले १० करोड ४४ लाख ६३ हजार १८० रुपैयाँमा ठेक्का सकार गरेको थियो । तर यसको कार्यप्रगति पनि २०.५४ प्रतिशत मात्र छ । ठेकेदारले यति कार्य गरेबापत दुई करोड १४ लाख ६१ हजार ५४ रुपैयाँ भुक्तानी लिइसकेको छ भने यसको ठेक्का अवधि पनि २०७८ वैशाख १४ मा समाप्त भइसकेको छ । वीरगंज महानगर–१५ मा रहेको लक्ष्मणवा पोखरीको सौन्दर्यीकरण गर्न २०७७ फागुन १० गते एक करोड ७५ लाख २१ हजार ४१९ रुपैयाँमा सुनकोशी कन्स्ट्रक्शनले ठेक्का सकार गरेको थियो । अहिलेसम्म यो ठेक्काको कार्यप्रगति ७३.२६ प्रतिशत छ र ठेकेदारले सोबापत एक करोड २८ लाख ३६ हजार ५३९ रुपैयाँ भुक्तानी पाइसकेको छ । यो ठेक्काको अवधि पनि समाप्त भइसकेको छ तर कार्य सम्पन्न हुन सकेको छैन ।
पर्सा जिल्लाकै पटेर्वासुगौलीमा रहेको निचुटा पोखरी सौन्दर्यीकरणको लागि तीन करोड छ लाख ३१ हजार ३५३ रुपैयाँमा नागार्जुन/हेम–सरबासार्की, काठमाडौंले ठेक्का लिएकोमा यसको कार्यप्रगति १०.८ प्रतिशत मात्र छ भने ठेकेदारले ३१ लाख १८ हजार ७४४ रुपैयाँ भुक्तानी लिएको छ । यस ठेक्काको सम्झौता अवधि पनि समाप्त भइसकेको छ । यसैगरी, बाराको ब्रह्मापुराको खेकरियामा भौतिक निर्माण कार्यका लागि सुनकोशी कन्स्ट्रक्शनले तीन करोड ७० लाख ३६ हजार ७६३ रुपैयाँमा २०७७ फागुन १० मा ठेक्का सकार गरेको र यसको कार्यप्रगति २५.२१ प्रतिशतभन्दा बढी हुन सकेको छैन । ठेकेदार कम्पनीले ९३ लाख ३८ हजार ५२० रुपैयाँ भुक्तानी लिइसकेको छ ।
मुर्ली बगैंचास्थित पोखरीको सौन्दर्यीकरणको लागि दुई करोड पाँच लाख ४१ हजार २१० रुपैयाँमा विकोई/किशोर जेभीले २०७७ फागुन ११ मा सम्झौता गरेको भएपनि अहिलेसम्म यसको कार्य शुरू भएको छैन ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पर्सा र बाराका यी आठवटा योजनाका समयावधि सकिएको एक वर्ष बढी भइसक्यो तर अहिलेसम्म म्याद पनि थप गरिएको छैन भने कार्यप्रगति पनि अगाडि बढ्न सकेको छैन ।