बलिराम शुक्ला, बिरुवागुठी, १५ माघ/
पर्साको पर्सागढी नगरपालिका वडा नं १ कोइलाभारमाई खेलमैदानमा जारी दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा सिमरा युनाइटेड क्लब, बारा सडेनडेथमा विजयी भएको छ ।

कोइलाभारमाई युवा क्लब, मनवाद्वारा आयोजित प्रतियोगितामा आज सिमरा युनाइटेड क्लब र जनकल्याण युवा क्लब, बकुलिया, बाराबीच भएको खेलमा दुवै टीमले निर्धारित समयमा एक/एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुवै टीमबाट बराबरी गोल भएपछि सडेनडेथमा सिमरा विजयी भएको हो ।

सडेनडेथ अन्तर्गत बकुलियाका खेलाडीले हानेको बल सिमराका गोलकीपरले समाउन पुगेपछि सिमरा युनाइटेड क्लब विजयी भएको हो ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ सिमरा युनाइटेड क्लबका गोलकीपर युनिस चौधरी भए । उनलाई आयोजकले नगदसहित मेडलले सम्मानित गरेको थियो ।

भोलिको पहिलो सेमिफाइनल खेल मौवादेवी युवा क्लब, बडहर्वा, बारा र पर्सागढी युवा स्पोट्र्स क्लब, बडनिहारबीच हुने आयोजक समितिका सदस्य दीपक दास थारूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here