‘वीरगंज स्कूल अफ ल’का विद्यार्थीहरूले वीरगंज महानगर क्षेत्रमा छाडा चौपाया नियन्त्रणको माग गर्दै महानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । समस्या महानगरवासीको हो । छाडा चौपायाका कारण अधिकांश नगरवासी आजित छन् । सचेत विद्यार्थीहरूले जनभावनाको प्रतिनिधित्व गर्दै समस्या उठाउनु राम्रो पक्ष हो । महानगरले पनि छाडा चौपाया नियन्त्रणको प्रयास नै नगरेको भने होइन । छाडा चौपाया नियन्त्रणमा लिने र कान्जी हाउसमा राख्ने गरेको छ । यसो गर्दा दूध दिने चौपाया र खसी, बाख्राका धनीहरू मात्रै चौपाया छुटाउन आउने गरेका छन् । महानगरको यो प्रयासले निरन्तरता नपाएको भने पक्कै हो । स्थानीय तहहरूले आफ्नो क्षेत्रका जनताको आवश्यकता र समस्या समाधान गर्न प्रमुख भूमिका खेल्नुपर्छ । छाडा चौपाया, जसले शहरी र ग्रामीण दुवै क्षेत्रमा समस्या छ । यो समस्या अधिकांश पालिकामा सम्बोधन हुन सकेको छैन । पशुधनीहरूले दूध दिने समयमा चौपाया आफ्नो नियन्त्रणमा राख्ने र दूध नदिने भएपछि छाडा छोड्ने गरेका छन् । यो प्रवृत्तिलाई नियन्त्रण गर्न कडा अनुगमन र पशुधनीमाथि कानूनी कारबाहीको व्यवस्था गर्नुपर्छ ।
छाडा चौपायाले वीरगंजजस्तै नेपालका अन्य शहरी क्षेत्रहरूमा पनि सडकमा ट्राफिक जाम निम्त्याउने, दुर्घटनाको जोखिम बढाउने र बटुवाहरूलाई आक्रमण गर्ने गरेका छन् । छाडा चौपायाको आतङ्कले बजार क्षेत्रमा व्यवसायी र ग्राहक दुवैलाई असर पु¥याउँछ । साथै चौपाया सडकमा मरेर दुर्गन्ध फैलिने अवस्था सिर्जना हुँदा जनस्वास्थ्यसमेत प्रभावित हुन्छ । छाडा चौपायाको प्रहारबाट मानिसको ज्यान गएका घटनाहरू पनि घटिरहेका छन् । यसैगरी, ग्रामीण क्षेत्रमा छाडा चौपायाले खेतबारीमा गएर बाली खाइदिने र कुल्चिएर, लतारेर नष्ट गरिदिने गरेका छन् । किसानहरूको मुख्य जीविकोपार्जन नै बालीबाट हुने हुँदा यसले उनीहरूको आर्थिक गतिविधिमा गम्भीर असर पार्ने गर्छ । पशुधनीहरूले दूध नदिने चौपायालाई छाडा छोड्ने हुँदा यस्तो समस्या आएको हो । दूध दिने जनावरको उमेर छउन्जेल पशुधनीले आंशिक बन्धनमा राख्छन् । बियाउने दिन नजीक आएपछि पशु नियन्त्रणमा लिने र दूध सुक्न थाल्दा पुनः छाडा छोड्ने त छँदैछ, त्यस्ता पशुहरूमध्ये विशेषगरी गाईको उमेर गएपछि बेवारिसे बनाएर छाडा छोडने प्रवृत्ति ठूलो समस्याको रूपमा आइरहेको छ । पछिल्लो समय दूध उत्पादक किसानहरूले यसो गर्न थालेका छन् । यस्ता धनीहरूलाई जिम्मेवार बनाउन स्थानीय तहले आवश्यक कानूनी प्रावधानहरूको व्यवस्था गरेको पाइँदैन ।
स्थानीय सरकारले छाडा चौपायालाई व्यवस्थापन गर्ने प्रभावकारी योजना र नीतिहरू बनाउन सक्नुपर्छ । पशुधनीहरूलाई उनीहरूको जिम्मेवारीबारे व्यावहारिक, नैतिक र कानूनीरूपमा सचेत पार्ने प्रयास स्थानीय तहले गर्नुपर्छ । प्रत्येक पालिकाले छाडा चौपायाको व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना बनाउँदै यस अन्तर्गत चौपायालाई आश्रयस्थल निर्माण गरेर मात्रै पाल्न पाउने र यसरी पालेका पशुका लागि उचित खानपान तथा स्याहारको व्यवस्था गरे नगरेको अनुगमन गर्न पाइने पालिकाको अधिकार क्षेत्र हो, यसलाई कार्यान्वयनमा लानु जरुरी छ । पालिकाले चाहेमा प्रत्येक पशुधनीको चौपायालाई दर्ता गरेर ट्यागिङ प्रणाली लागू गर्न सकिन्छ । यसले छाडा चौपाया कसको हो भन्ने पहिचान गर्न र दोषीलाई कारबाही गर्न सजिलो हुन्छ । मुख्यतः छाडा चौपायाको समस्यालाई समाधान गर्न स्थानीय सरकारले आफ्नो जिम्मेवारी हो भन्ने कुरालाई गम्भीररूपमा लिनुपर्छ ।