प्रस, परवानीपुर, १२ माघ/
नेकपा (एमाले)निकट अखिल नेपाल किसान महासङ्घका २३ वटामध्ये विषयगत सङ्गठनको रूपमा चिनिने माछापालक किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलन बाराको परवानीपुरमा सम्पन्न भएको छ ।

कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेश, परवानीपुरको सभाहलमा आयोजित दुई दिने कार्यक्रममा २३ वटा जिल्लाका माछापालक किसानहरूको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन एमाले मधेस प्रदेश कमिटी इन्चार्ज लीलानाथ श्रेष्ठ गरेका थिए । उनले माछापालक किसानलाई सरकारले विभेद गरेको आरोप लगाए । किसानले परम्परागतशैलीबाट आज पनि माछापालन गरिरहेको बताउँदै उनले आगामी दिनमा किसान सङ्गठित भएपछि सरकार आवाज सुन्न बाध्य हुने जिकिर गरे ।

कार्यक्रममा किसानहरूले नेपालमा माछापालन गर्दा प्राविधिक सहयोगको अभाव रहेको चर्चा गर्दै माछा सङ्कलन केन्द्रसमेत सरकारले बनाउनुपर्ने माग राखेका थिए । उनीहरूले तालीम केन्द्रको अभाव, ढाल्टाको मार र खुल्ला सिमानाका कारण नेपाली माछा बजार प्रभावित हुँदै गएको समेत औंल्याएका थिए । उनीहरूले यस्ता समस्यालाई तीनै तहका सरकारले सम्बोधन गर्न पहल गर्नुपर्ने माग राखेका थिए ।

सङ्घका केन्द्रीय अध्यक्ष उमेश गुप्ताको अध्यक्षता र अखिल नेपाल किसान महासङ्घ मधेस प्रदेशका सचिव रामप्रसाद घिमिरेको सहजीकरणमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा विशिष्ट अतिथि बारा क्षेत्र नं ३ की सांसद ज्वालाकुमारी साह, एमाले नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष राजकुमार उप्रेती, निर्वाचन कमिटी अध्यक्षमण्डलका अध्यक्ष सरीता भुसाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here