बलिराम शुक्ला, बिरुवागुठी, २३ पुस/
सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवको गृह जिल्ला पर्सामा निर्माण गरिएको करीब आधा दर्जन खानेपानी अझै सञ्चालनमा आउन सकेको छैन ।

निर्माण गरिएको करीब एक दशक पुग्न थाल्दा पनि खानेपानीमन्त्री यादवले सञ्चालनमा ल्याउन कुनै पहल गरेको पाइएको छैन ।

पर्सा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई पटकपटक मन्त्री बनेका यादव हाल सङ्घीय खानेपानीमन्त्री छन् तर आफ्नै गृह जिल्लामा निर्माण गरिएका खानेपानी टङ्कीहरूको अनुगमन गरी सञ्चालनमा ल्याउन पहलसमेत गरेका छैनन् ।

पर्साका सोलखपुर, बडनिहार, मनवा, रङ्गपुर, सेढवा, महुवन, ठोरीलगायतका स्थानमा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका आधा दर्जनभन्दा बढी खानेपानी टङ्की सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेका छन् ।

सोलखपुर, बडनिहार, मनवामा निर्माण भएका खानेपानी टङ्की समयमा सञ्चालनमा नआउँदा निर्माण भएका भौतिक पूर्वाधारहरू पनि जीर्ण बन्दै गएका छन् । बडनिहारमा रहेका भौतिक पूर्वाधारहरू शौचालयदेखि मूलगेट तोडफोड गरिएको छ भने मनवामा बनेको पूर्वाधारमा पशुचौपाया बस्ने स्थल नै बनेको छ । सो ठाउँ अहिले युवकहरूले मादक पदार्थ सेवन गर्ने अड्डामा परिणत भएको छ ।

समयमा सञ्चालनमा ल्याउन नसकिए निर्माण भएका भौतिक संरचनाहरू जीर्ण भई सरकारको करोडौं लगानी खेर गइरहेको स्थानीयवासीले बताएका छन् ।

भौतिक संरचना संरक्षणका लागि स्थानीय पालिकाहरूले पनि ठोस कदम चालेका छैनन् । ती स्थलमा निर्माण गरिएको धाराबाट पानी दिनभरि आउने गरेको र रोकथामको कुनै व्यवस्था नभएको कारण पानी पनि खेर गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here