प्रस, वीरगंज, २३ पुस/
चीसो बढ्दै गएपछि वीरगंज महानगरपालिकाले विद्यालयहरूमा तीन दिन जाडो बिदा दिन आग्रह गरेको छ ।
महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले सूचना जारी गर्दै विद्यार्थीहरूको स्वास्थ्यमा चीसोको कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ देखि पुस २६ गतेसम्म विद्यालयहरूलाई बिदा दिन अनुरोध गरेका हुन् ।
सूचनामा विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमैं अध्ययन गर्ने वातावरण बनाउन विद्यालयहरूलाई निर्देशन दिइएको छ । जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने भएकोले पठनपाठनको कार्यतालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मकरूपमा लिन महानगरपालिकाले आग्रह गरेको छ । सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य नियमितरूपमा सञ्चालन गर्न पनि भनिएको छ ।
यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दुई दिन जाडो बिदा दिएको छ । शिक्षा अधिकृत हरिशप्रसाद भट्टले विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै दुई दिनको लागि उमनपाभित्रका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको बताए । वर्षे बिदाबाट कट्टा हुनेगरी पुस २४ देखि २५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्न उनले आग्रह गरेका छन् ।