प्रस, रौतहट, २१ पुस/
माधवनारायण नगरपालिकाका तीनजनाका पक्की घरमा चोरी भएको छ ।
माधवनारायण नगरपालिका–६ माधोपुरमा गएराति मध्य रातको समयमा चोरले सुरुङ कोडेर स्थानीय जगरनाथराय यादव, रामबाबूराय यादव र नेमीलाल रायको घरमा चोरी गरेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सु परेर चीसो बढेको अवसर छोपी चोरहरूको समूहले तीनवटा पक्की घरमा सेन कोडेर नगद, गरगहना, लत्ताकपडा गरी पाँच लाखभन्दा बढी मूल्यका धनमाल चोरेर लगेको पीडितहरूले बताए । अत्यधिक चीसोको कारण न्यानो पारी मस्त निदाएको अवसर पारेर चोरहरूले तीनवटा घरमा सेन कोडेर चोरी गर्न भ्याएका हुन् । चोरहरूले तीनवटै घरबाट महँगा सामानहरू राखिएका टीनका बक्सा लगेको पीडितहरूले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले चोरीका घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जनाएको छ । दुई दिन अघि बिहीवार पनि फतुवाविजयपुर नगरपालिकाको पेटभर्वामा पनि यसैगरी पक्की घरमा सेन कोडेर चोरहरूले चोरी गरेका थिए । फतुवा विजयपुरमा भएको चोरीमा संलग्नहरू पक्राउ नपर्दै अहिले माधवनारायण नपामा सोही तरीकाले चोरी गरिएको छ ।