प्रस, निजगढ, १९ मङ्सिर/
वर्षायाममा सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढलाई हारगुहार गर्ने निजगढ नगरपालिका वर्षा सकिएसँगै चुपचाप बसेको देखिन्छ । वर्षामा निजगढस्थित बकैया खोलामा आएको बाढीले खोलाको तटबन्ध कटान गरेपछि विपत् व्यवस्थापनको नाउँमा प्लास्टिकका बोरामा बालुवा भरेर काम टार्ने निजगढ नपा बकैया पुल दक्षिणतर्फ कटान रोक्न दिगो कार्य गर्न अहिलेसम्म पनि अग्रसर भएको छैन ।
बाढीले गर्ने कटानलाई रोक्न प्रारम्भिक अल्पकालीन उपाय प्लास्टिकका बोरामा बालुवा भरेर क्षति कम गराउन सकिने उपाय भएको सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतोले बताए ।
प्लास्टिकको बोरामा बालुवा भरेर तत्काल बाढीबाट हुने कटान रोक्न सक्ने तर घामपानी, चीसो, तातोका कारण केही महीनामैं प्लास्टिकका बोरा कुहिएर बालुवा झर्ने उनले भने ।
बर्सेनि निजगढ नगरपालिकाले करोडौं मूल्यमा खोलाको टेन्डर लगाउँदै आइरहे पनि संरक्षणतर्फ ध्यान नदिंदा तटबन्धका पक्की संरचनाहरू बर्सेनि भत्किंदै बाढी बस्तीमा पस्न सक्ने सम्भावना बढेको छ । खोला ठेक्काको नाउँमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको अत्यधिक उत्खनन, दोहनले पुल र आसपासका बस्ती संरक्षणका लागि निर्माण गरिएको पक्की तटबन्ध बर्सेनि भत्किरहेको छ ।
वार्षिक ८–१० करोडमा खोला ठेक्का लाग्ने गरे पनि खोलाको संरक्षणमा निजगढ नगरपालिकाले चासो नदेखाउँदा बाढी प्रभावित क्षेत्रका स्थानीयहरूले नगरपालिकाको आलोचना गर्दै आइरहेका छन् । निजगढ नगरपालिकाले बर्सेनि खोला ठेक्काको नाममा करोडौं रुपैयाँ सङ्कलन गरे पनि अहिलेसम्म बकैया खोलाको पक्की तटबन्ध संरक्षणका लागि रकम खर्च नगरेको निजगढ नपा कार्यालय स्रोतले जनाएको छ ।
खोलाबाट नदीजन्य पदार्थ (दहत्तर बहत्तर) ढुङ्गा, गिट्टी, ग्राभेल, बालुवाको उत्खनन मापदण्डविपरीत जथाभावीरूपमा हुँदा बर्सेनि पक्की तटबन्धमो असर पर्दै आएको छ । अवैध उत्खनन र ठेकेदारद्वारा गरिने खोला उत्खनन, दोहन कार्यमा निजगढ नगरपालिका मौन बस्दा बर्सेनि वर्षामा क्षति हँुदै आइरहेको छ ।
यस वर्षको बाढीले वडा नं ९ स्थित आर्यघाटसमेत कटान गरेको छ । सो स्थानमा विगतमा संरक्षणका लागि लगाइएका तारजाली बाढीले बगाउँदा कटानको समस्या आइलागेको हो ।
यता पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन सडक विस्तारसँगै बकैया पुल निर्माण हुने क्रममा भत्किएको पक्की तटबन्ध पुनर्निर्माण हुने नगरप्रमुख सुुरथ पुरीले बताइरहँदा बाढी बस्तीतर्फ पस्न सक्ने जोखिम बढ्दो छ । एशियन हाइवेसँग जोडिने भनिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन सडक निर्माण गफमा मात्रै सीमित भएको तीन दशक पुगे पनि तीन वर्षयताबाट भने सम्बन्धित निकायका प्राविधिक टोली निजगढ नगरपालिकामा औपचारिक कोठे कार्यक्रम गर्दै सरकारी बजेट मात्रै खर्चने गरेका छन् ।
कोल्हवी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने बकैया खोलाको बर्सेनि ठेक्का लगाउँदै आइरहेको छ । खोला ठेक्काका नाममा मापदण्डविपरीत उत्खनन, दोहन हुँदा त्यसको असरसमेत निजगढस्थित बकैया पुल, तटबन्धलगायतका संरचनामा पर्दै आइरहेको छ । स्थानीय पालिकाहरूले खोलाको ठेक्का लगाउन पाउने कानूनी अधिकार रहे पनि संरक्षणमा समेत ध्यान दिन जरुरी छ ।