नितेश कर्ण, वीरगंज, १३ मङ्सिर/
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका धारणा शब्दावलीबारे स्थानीय सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम बिहीवार वीरगंजमा सम्पन्न भएको छ ।
‘लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ नाराका साथ ब्लू डायमन्ड सोसाइटी काठमाडौंको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आज आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अवधारणा र शब्दावलीबारे स्थानीय तहका सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरिएको थियो । ब्लू डायमन्ड सोसाइटी काठमाडौंका अध्यक्ष उमिशा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले उद्घाटन गरेका थिए । उनले स्थानीय सरकारले अहिले रोजगारका विभिन्न क्षेत्रमा अवसर प्रदान गरेको बताए । उनले तेस्रोलिङ्गी तथा समलिङ्गीहरूमा अधिकारसँगै उच्च शिक्षाको आवश्यकता रहेको बताए । यौन व्यवसायलाई न्यूनीकरणका लागि तेस्रोलिङ्गीहरूको पहुँच शिक्षामा बढ्नुपर्ने उनले सुझाए । उनले यस प्रकारका अभिमुखीकरण कार्यक्रममा आयोजकले पालिकास्तरका जनप्रतिनिधिहरूलाई सहभागी गराउनुुपर्ने सुझाए ।
कार्यक्रममा पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो । सहयात्री समाज पर्साका कार्यकारी संयोजक सुरज लिम्बूले अहिले समलिङ्गी तथा तेस्रोलिङ्गीहरूलाई हेर्न नजरमा समस्या रहेको बताए । उनीहरूलाई रोजगारको समस्या रहेको र यो विषयको निराकरणविना सुधारको अपेक्षा गर्न नसकिने उनले बताए । उनले पर्सा जिल्लामा हाल सम्पर्कमा आएका पाँच सयजनामध्ये ८० जना एचआइभी सङ्क्रमित रहेको बताए । उनले समलिङ्गी र तेस्रोलिङ्गीहरूको हकमा सरकारले स्वास्थ्य शिक्षा तथा रोजगारको व्यवस्थापन नगरेको आरोप पनि लगाए ।