प्रस, वीरगंज, १३ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले बिहीवार यातायात व्यवस्था कार्यालय पर्सा र वीरगंज बसपार्क परिसरमा यात्रु तथा सेवाग्राहीलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई पक्राउ गरेको छ ।
जनगुनासाका आधारमा आज जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमनको क्रममा दुवै क्षेत्रबाट १८ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।
वीरगंज महानगरपालिका–१६ बसपार्कमा यात्रुहरूलाई दुःख, हैरानी दिने तथा यातायात कार्यालय पर्सा वीरगंजका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्नेहरू १८ जना बिचौलियालाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । कार्यालय परिसरमा अनधिकृतरूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी प्रचलित कानूनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेकाहरूलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
उनले पर्सा जिल्ला विन्ध्यवासिनी गापा–१ बस्ने वर्ष २१ का सञ्जीव गुप्ता, वीरगंज महानगरपालिका–८ बस्ने वर्ष ५१ का विजय साह, वडा नं १० रानीघाट बस्ने वर्ष १८ का बजरङ्गी महतो, वर्ष २२ का राहुल महतो, वर्ष ३८ का विजय साह, वर्ष २८ का फिरोज खान, भारतीय नागरिक वर्ष २५ का जटाशङ्कर कुमार र रौतहट जिल्ला माधवनारायण नपा–१ बस्ने वर्ष २५ का नरेश साह सोनारलाई पक्राउ गरिएको प्रवक्ता लम्सालले बताए । त्यसैगरी, गोरखा जिल्ला गोरखा नपा–९ बस्ने वर्ष २६ का सुशान्त कुँवर, वीरगंज महानगरपालिका–१० बस्ने वर्ष ३५ का प्रभु पटेल, वडा नं १५ बस्ने वर्ष ३१ का सन्देश सिंह, वडा नं १६ बस्ने वर्ष २० का विकाश पटेल, वडा नं ११ बस्ने वर्ष ३१ का जयपूजन ठाकुर, वर्ष २३ का मनीष महतो, वर्ष २२ का चन्दनकुमार चौरसिया, वर्ष ३५ का सन्तोष महतो, वडा नं १४ बस्ने वर्ष २३ का इद मियाँ धोबी र वडा नं ११ बस्ने वर्ष ४० का सुरजभगत मालीलाई पक्राउ गरी निजहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।