प्रस, निजगढ, १२ मङ्सिर/
बकैया खोलाबाट अवैधरूपमा उत्खनन गरी निजगढ नगरपालिका–४ कछडियाबस्ती आसपास थुपारिएको दुई करोडभन्दा बढी मूल्यको ढुङ्गालाई जफत गर्न निजगढ नगरपालिकाले चासो देखाएको छैन ।

मोहोरीस्थित बकैया खोलाबाट ढुङ्गा चोरी–तस्करी, वन डिभिजन, निजगढ नपासहित नेपाली सेना पनि मौन शीर्षकमा गत बिहीवार प्रतीक दैनिकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएसँगै यही मङ्सिर ७ गते शुक्रवार जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजनल वन अधिकृत राजीवकुमार झा, प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुुर सिंह, जिल्ला समन्वय अधिकारी आमोद चौधरी, इप्रका निजगढका प्रमुख सुमित कुुशवाहा, निजगढ नपाका राजस्व शाखा प्रमुख दिनेश श्रेष्ठ, वन वातावरण शाखा प्रमुख सहायक वन अधिकृत अनिल कोइराला, सबइन्जिनीयर नवीन खनाललगायतको टोलीले अवैधरूपमा ढुङ्गा थुपारिएको स्थान र क्रसर उद्योगको अनुगमन गरेको थियो ।

यस विषयमा सरोकारवाला निकायहरू जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, सुरक्षा निकाय र निजगढ नगरपालिकासमेतले ठोस निर्णय नगर्दा ढुङ्गा चोरी–तस्करी गिरोहको मनोबल बढेको छ । अवैधरूपमा थुपारिएका ढुङ्गालाई निजगढ नगरपालिकाको चरम लापरवाहीका कारण गिरोहले टिपरबाट अन्यत्र बिक्री गर्न लैजाने गरे पनि ठेकेदारले राजस्व काटेर सो ढुङ्गालाई वैधता दिंदै आएको छ ।

अवैध उत्खनन गरिएका ढुङ्गालाई जफत गरी पुनः बढाबढ मूल्यमा टेन्डर आह्वान गर्नुपर्ने भएपनि निजगढ नगरपालिकाले ध्यान दिएको छैन । विभिन्न स्थानमा थुपारिएका २५०० घनमिटर अर्थात् ट्याक्टरको सात हजारभन्दा बढी टिप ढुङ्गा दुई करोड मूूल्यभन्दा बढीको भएको अनुमान छ ।

ढुङ्गा चोरी–तस्करी गर्ने गिरोहले लाखौं रकम लगानी लगाउँदै बकैया खोलाबाट ढुङ्गा चोरी–तस्करी गर्ने गराउने कार्यमा स्थानीयलाई उक्साउने गरेको छ । जस कारण निजगढस्थित बकैया खोलाबाट ठूलो परिमाणमा ऐन कानून र मापदण्डविपरीत अवैधरूपमा सार्वजनिक सम्पत्ति प्राकृतिक स्रोत साधन उत्खनन, सङ्कलन हुँदै आइरहेको छ । प्राकृतिक स्रोत साधनको अवैध धन्दा गर्ने, गराउने, संरक्षण गर्ने अपराध कार्यमा संलग्नलाई निजगढ नगरपालिका, प्रहरी प्रशासनले पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने स्थानीयहरू बताउँछन् ।

गत कात्तिक ९ गते मापदण्डभित्र रही वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको परिमाण र स्थानबाट खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न निजगढ नपाबाट सम्झौता भएपछि अनुमति पाएको हो । अनुमति पाएपछि ठेकेदार कम्पनीले कात्तिक २२ गते छठपछि खोलाबाट मापदण्डले तोकिएको स्थानमा उत्खनन कार्य शुरू गरेको हो । तर दुई साता पनि नबित्दै २५०० घनमिटर अर्थात् सात हजार टिपभन्दा बढी ढुङ्गा अवैधरूपमा खोलाबाट ल्याइ थुपारेको छ । ठेकेदारले खोलामा उत्खनन शुुरू गर्नु अघि नै थुपारिएका ढुङ्गा कानूनीरूपमा अवैध ठर्हछ । वनजङ्गल क्षेत्रलाई हानिनोक्सानी हुुनेगरी चुरे क्षेत्र र चुुरे संरक्षित क्षेत्रको खोलाबाट समेत अवैधरूपमा ढुङ्गा सङ्कलन गर्ने गरिएको छ ।

नेपाली सेनाले निर्माण र संरक्षणको जिम्मेवारी लिएको दु्रतमार्ग निजगढ मोहोरी चुरेस्थित निर्माणाधीन पुल आसपासको बकैया खोलाबाट दैनिक ठेकेदार कम्पनीका दर्जनौं ट्याक्टरले निषेधित क्षेत्रबाट अवैधरूपमा ढुङ्गा चोरी–तस्करी गरी थुपारेको हो ।

यता प्राकृतिक स्रोत साधनको अवैध उत्खनन कार्यलाई नियन्त्रण गर्ने जिसस प्रमुख साह बताउँछन् । यसैगरी, खोला ठेक्काका नाउँमा तोकिएको स्थान, मापदण्डको परिधिभित्र रही परिमाणभन्दा बढी खोलाको नदीजन्य पदार्थ उत्खनन, दोहन, सङ्कलन, ओसारपोसार गरेको पाइए ठेकेदार कम्पनीलाई कानूनी दायरामा ल्याउने प्रजिअ अधिकारीले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here