प्रस, बिरुवागुठी, १० कात्तिक/
पर्सागढी नगरपालिका–३ स्थित जूनतारा महिला बचत तथा ऋण सहकारी संस्थाको शनिवार १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष मञ्जुदेवी क्षत्रीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन नगरप्रमुख गोकर्ण पाठकले गरेका थिए । उनले सहकारीमा बचत गरेको रकम अपचलन, अनियमितता तथा ठगेर भाग्ने चलन बढेका कारण सहकारीप्रति बचतकर्ताहरूको विश्वास घटिरहेको बताए । उनले पुरुषले भन्दा महिलाहरूले सञ्चालन गरेका सहकारीमा बचतकर्ताहरूको विश्वास बढेको र पर्सागढी नगरपालिकासमेत जिल्लाभरिमंै जूनतारा महिला बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट रहेको दाबी गरे ।
साधारणसभामा नपाकी सहकारी शाखा प्रमुख झरना क्षत्री, पत्रकार बलिराम शुक्लालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा संस्थाले आव २०८०/८१ मा पाँच करोड ६५ लाख ३४ हजार ९४१ रुपैयाँको कारोबार भएको उर्मिला कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । टुका आचार्यले वार्षिक र शान्ति ढकालले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी उपाध्यायलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत पार्वती रेग्मी र सहजीकरण हीरा अर्यालले गरेका थिए ।