चिरञ्जीवी सापकोटा, ठोरी, ९ कात्तिक/
दीप नेपाल संस्थाले ठोरी गापा–४ स्थित नेराआवि, निर्मलबस्तीका ३४ जना असहाय तथा विपन्न बालबालिकालाई विद्यालय पोशाक तथा जुत्ता वितरण गरेको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा असहाय तथा विपन्न परिवारका ३४ जना विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान गरिएको प्रधानाध्यापक गोपीलाल श्रेष्ठले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब्बालाल दोड्ढो सभापतित्वमा भएको कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दीप नेपाललाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रम गर्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले ठोरीमा शिक्षालाई निश्शुल्क गरिएको र शिक्षा क्षेत्र सुधारका अनेक प्रयासहरू भइरहेको बताउँदै आगामी केही वर्षभित्र ठोरीको शिक्षामा आमूल परिवर्तन आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा दीप नेपालका अध्यक्ष विष्णु सापकोटाले संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा वडाध्यक्ष मानबहादुर थिङले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रअ श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सहजीकरण शिक्षक आशाकाजी गोलेले गरेका थिए ।