बलिराम शुक्ला, बिरुवागुठी, ११ असोज/
अविरल वर्षाका कारण पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगको जनजीवन प्रभावित बनेको छ ।
वर्षाको कारण दैनिक ज्यालादारी गरी घरपरिवारको जीवन निर्वाह गर्दै आएकाहरू घरबाहिर काम गर्न निस्किन सकेका छैनन् ।
अहिले छोटो समयमा पाक्ने धान कटानको समय भएकोले वर्षाको कारण धान काट्न जान नसकेको पर्सागढी नपा–३ का शिवनाथ माझी बताउँछन् । आफूसहित परिवारका सातजना सदस्य धान कटानीका लागि जान नसकेको उनले बताए । वर्षाका कारण ग्रामीण क्षेत्रमा चहलपहल बन्द भएको छ । सवारीसाधनहरू सञ्चालनमा छैनन् ।
कुन स्थानमा बाटो खराब भएको छ, सोको यकीन नभएकोले आवतजावत बन्द भएको हो । ग्रामीण क्षेत्रका बजारहरू सुनसान छन् । मानिसहरूको चहलपहल कम भएको र निरन्तरको वर्षाले बडनिहार, मनवा, रङ्गपुरलगायतका बजारहरू सुनसान छन् ।
बडनिहार बजारमा विद्युतीय सामानका पसले मोमताज अन्सारीले वर्षाले गर्दा मानिसहरूको चहलपहल कम भएकोले शुक्रवार बोहनीसम्म पनि हुन नसकेको बताए । असोज ७ गतेसम्म उखरमाउलो गर्मी भएको र त्यसपछि बादल लागेर मौसम अलि ठण्डा भएको तथा बिहीवार दिउँसोदेखि निरन्तरको वर्षाले अहिले पर्साका ग्रामीण क्षेत्रमा चहलपहल कम भएको हो ।
महानगर डुबानमा परेन
वीरगंज महानगर बिहीवारदेखि परेको पानीले पनि डुबानमा नपरेको सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन अन्सारीले बताए । उनले आदर्शनगर, रामटोल, मुर्ली, श्रीपुर, रानीघाट आदि डुबान पर्ने स्थानहरूमा बिहीवारदेखि शुरू भएको अविरल वर्षाले डुबान हुन नसकेको बताए ।
उनले मुख्य र सहायक नालाहरूको सफाइ कार्य भएका कारण महानगरका डुबानग्रस्त क्षेत्र शुक्रवार डुबानमा नपरेको दाबी गरे । उनले मुर्ली र श्रीपुरको त्रिमूर्ति चोक अलिअलि डुबानमा परेको तर बाँकी स्थानहरू भने शुक्रवार डुबानमा नपरेको बताए ।