प्रस, वीरगंज, ९ असोज/
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले वर्तमान सरकारले संविधान संशोधनको कुरा उठाएर मधेसी जनतालाई फेरि पनि झुक्याउन खोजेको आरोप लगाएका छन् ।

जनमत पार्टी पर्साले वीरगंजमा बुधवार आयोजना गरेको प्रशिक्षण एवं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा राउतले अहिलेको सरकार फरक विचार भएका दुई पार्टीबीच बनेकोले यो मिलनबाट देशको विनाश मात्र हुने बताए ।

उनले जसरी आकाश र जमीनको मेल हुन सक्दैन, त्यसैगरी एमाले र नेपाली काङ्ग्रेसबीच मेल हुनै सक्दैन र यो असम्भव कार्य सम्भव भएकोले नै देश अहिले विनाशको बाटोमा गइरहेको दाबी गरे । उनले वर्तमान सरकारले संविधान संशोधनको कुरा उठान गरे पनि त्यसमा विश्वास गर्न नसकिने बताए ।

उनले दुई पार्टीले आपसी कुराको निदान हुनेगरी मध्यरातमा संशोधन गर्ने आरोप पनि लगाए । उनले मधेसी जनताको अधिकार संविधान संशोधनमा सम्बोधन हुने कुरामा अलिकति पनि विश्वास गर्न नसकिने बताए ।

अध्यक्ष डा राउतले मधेसीको अधिकारका लागि अब मुक्तिको आन्दोलन आवश्यक भएको र आफू अहिले सोही प्रयोजनका लागि मेची–महाकाली यात्रामा रहेको बताए । उनले भने, “मधेसी जनताको हकअधिकारको लागि आन्दोलनमा होमिनुको विकल्प छैन ।”

उनले संविधान संशोधन, तराई–मधेसका २२ जिल्ला समेट्ने गरी दुई प्रदेश, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र राष्ट्रपति, प्रधानमन्त्री अनि सबै संवैधानिक अङ्गहरूमा जननिर्वाचितको व्यवस्था गरिनुपर्ने बताए । उनले यी चार अधिकार स्थापित गर्न जनमत पार्टीले मुक्तिको आन्दोलन गर्ने बताए ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउतले सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पर्सा इन्चार्ज माधव सिंह, केन्द्रीय सदस्यहरू सिपु तिवारी, मुकेश द्विवेदी, शशिकपूर मियाँ, अनीता रौनियार, नेजमा खातुनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा करीमा बेगमले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here