प्रस, वीरगंज, ५ असोज/
मधेस प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले ज्येष्ठ नागरिकहरूको हकमा आफूले काम गरेर देखाउने बताएका छन् ।

ज्येष्ठ नागरिक सङ्घ पर्साले शनिवार आयोजना गरेको १२औं साधारणसभा र विश्व अल्जाइमर्स दिवस कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री जयसवालले ज्येष्ठ नागरिकहरूको लागि निर्माण हुने भवनलगायतका कार्यमा आफ्नो सहयोग रहने बताए । उनले ज्येष्ठ नागरिक पार्क निर्माणका लागि वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा भारत सरकारले सात करोड लगानी गर्न देखाएको चासोप्रति आफूले पहल गर्ने बताए । सो प्रयोजनका लागि तयार डिपिआर आफूलाई उपलब्ध गराउन उनले आग्रह गर्दै यसबारेमा आवश्यक पहल गर्ने बताए ।

साधारणसभामा सङ्घका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले आव २०८०/८१ मा रु पाँच लाख ५३ हजार ४९४ आय भएको र सोही बराबरको खर्च भएको जानकारी गराए । उनले चालू आव २०८१/८२ को लागि अनुमानित रु ४१ लाखको बजेट प्रस्तुत गरेका थिए । यसैगरी, सचिव विनयराज गौतमले वार्षिक गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी डा रुचि मित्तलले अल्जाइमर्स रोग भएको र यसलाई पागलपन भन्न नमिल्ने बताइन् । उनले बुढेसकालमा स्मरणशक्ति कमजोर हुँदै जाने र यसैलाई अल्जाइमर्स भन्ने गरिए पनि कतिपय मानिसले यो अवस्थाका बूढापाकाहरूलाई पागलपनको शिकार भएको आरोप लगाउने गरेको बताइन् । उनले अल्जाइमर्सलाई पागलपन भन्न नमिल्ने तर्कहरू प्रस्तुत गरेकी थिइन् ।

सङ्घका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश संयोजक एवं केन्द्रीय सदस्य जगदीशप्रसाद शर्मा, इन्द्रदेवप्रसाद कलवारलगायतको सहभागिता थियो । कार्यक्रममा उपाध्यक्ष बैधनाथ कोइरीले स्वागत, डा अशोक दासले धन्यवाद ज्ञापन र सचिव विनयराज गौतमले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here