प्रस, परवानीपुर, ५ असोज/
मधेस प्रदेशको वर्तमान सरकार दिगो र स्थायी भएको प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले बताएका छन् । नेकपा एमाले पर्साद्वारा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अहिलेको प्रदेशको सरकार सुशासन र भ्रष्टाचार न्यूनीकरणतर्फ अग्रसर भएको दाबी गरे ।

उनले वर्तमान सरकार आगामी दिनमा आफ्ना कामकाजलाई प्रभावकारी किसिमले अघि बढाउन लागिपरेको पनि बताए । प्रदेशको बजेटमा अनियमितता र भ्रष्टाचार बढेको जनगुनासोलाई मध्यनजर गर्दै उनले ग्रास रूटबाटै प्रादेशिक कार्यालय वा योजनाहरूबारे कुनै पनि गुनासो छ भने प्रदेश सरकारको वेबसाइट वा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन पनि सरोकारवालाहरूलाई आग्रह गरे । उनले गुनासो अनुसारको दोषी भेटिए कर्मचारीलाई कारबाही गर्न सिफारिश गर्ने प्रतिबद्धता जनाए । अन्य समयमा चैतदेखि योजनाहरू शुरू हुने गरेकामा चालू आवको दशैंपछि नै प्रदेश सरकारको योजना शुरू गर्ने तयारीमा रहेको उनले बताए । उनले एक हप्ताभित्रै पर्सामा मात्रै आठवटा प्रादेशिक सडकका योजनाहरू अघि बढाइने बताए ।

यसैगरी, आठ जिल्लामा एक पालिका एक पुलको योजनालाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । विगतमा प्रदेश सरकारले साना तथा टुक्रा योजनामा ध्यान दिए तापनि वर्तमान सरकारले भने ठूला आकारका योजनालाई बढी प्राथमिकता दिएको बताए ।

एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य जालिम मियाँ, पोखरिया नगरपालिका प्रमुख प्रद्युम्न चौहान, छिपहरमाई गापाध्यक्ष एवं एमाले पर्साका उपाध्यक्ष मनोज गुप्तालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव महेश दासले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here