प्रस, वीरगंज, २६ भदौ/
तेरापन्थ युवक परिषद् वीरगंजको आयोजनामा बाराको सिमरास्थित हुलास स्टील कारखानामा बुधवार आयोजित रक्तदान कार्यक्रममा तीनजना महिलासहित १३० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
कार्यक्रममा अमीर अन्सारी, नरेश झा, जागृत चौधरी, देवेन्द्र कर्ण, अङ्कुत पोखरेल, विजय साह, विशाल मिश्र, सुमित त्रिपाठी, राजश्री शर्मा, आकाश पासवान, सुदीप रानामगर, विटु पटेल, चन्दन सिंह, सरीता न्यौपाने, निर्मला श्रेष्ठ, सीमा गुरूङ्ग, नविन पाण्डे, गोपाल रिजाल, महेश कार्कीलगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए ।
रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले तेरापन्थ युवक परिषद् वीरगंजले भदौ २५ गतेदेखि असोज ४ गतेसम्म ११ दिने कार्यक्रम गरी रक्तदान गराउन शुरू गरेको बताए । पहिलो दिन हिजो एमबी दुगड जीतपुरमा १०७ जना र आज १३० गरी दुई दिनमा २३७ जनाले रक्तदान गरेका प्राविधिक प्रम्ुख पाण्डेयले बताए ।
तेरापन्थ युवक परिषद् वीरगंजका अध्यक्ष लोकेश जम्मडले ११ दिने अभियान अन्तर्गत १५०० पिन्ट रगत सङ्कलनको उद्देश्य रहेको बताए । आजको कार्यक्रममा युवक परिषद्का पियुष जम्मड, धीरज बोरड, हुलास स्टीलका सुनील मोनित, अखिल सिंह, नेरेसो रेशमकोठी उपशाखाका अभिलाष गुप्तालगायतको सहभागिता थियो ।