दिनेशकुमार मिश्र, वीरगंज, १५ भदौ/
पोखरिया जिल्ला अस्पतालमा थाइरायड परीक्षण गर्ने मेशीन टोकन प्रणालीबाट सञ्चालनमा आएको छ । पोखरिया आसपासका सेवाग्राहीले थाइरायड जाँचको लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । थाइरायड परीक्षणका लागि सेवाग्राहीले लाइन लाग्न नपरोस् भनेर टोकन मेशीन जडान गरिएको छ र आफ्नो नम्बर आएपछि सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रु १४ लाख ८१ हजार बराबरका उपकरणहरू पोखरिया जिल्ला अस्पतालमा पठाएको छ । रक्तचाप जाँच गर्ने सेट पाँच थान, अटोस्कोप एक थान, सक्सन मेशीन एक थान, डेलिभरी सेट दुई थान, फेटल ड्रपर (डिजिटल) दुई थान, पिओसिटी एनालाइजर एक सेट र पूर्ण स्वचालित इलेक्ट्रोलिट एनालाइजर एक थान पोखरिया जिल्ला अस्पतालमा आएको मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले बताए ।

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले आफ्नो रगत जाँच गराएर ती उपकरणहरूको उद्घाटन गरेका थिए । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर नगरपालिकाले अस्पतालको लागि टोकन मेशीन खरीद गरेको तथा स्वास्थ्य उपकरणहरू व्यवस्थापन विभाग टेकुबाट आएको नगरप्रमुख चौहानले जानकारी गराए । उनले अस्पतालमा सुधारका कार्यक्रमहरू गर्दै आएको बताए । उनले आगामी दिनमा पनि अस्पतालको सेवामा वृद्धि गरिने बताए ।

पोखरिया जिल्ला अस्पताललाई स्तरोन्नति गरेर ५० शøयाको प्रादेशिक अस्पताल बनाउने विषय पनि अन्तिममा पुगेको बताए । उनले सोसम्बन्धी फाइल अर्थ मन्त्रालयमा पुगेको र राय स्वीकृति भएपछि सबै प्रक्रिया पुग्ने नगरप्रमुख चौहानले बताए । कार्यक्रममा उपप्रमुख रुबी ठाकूर, नेता नेजामुद्दीन समानी, डा सजय गुप्ता, अभिषेक कलवार, सुशील चौरसिया, सञ्जु दासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here