प्रस, पचगावाँ, ५ भदौ/
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले साउन ३१ गते राति पटेर्वासुगौली गापा–४ अकवाबाट एकजना मानिससहित ठूलो परिमाणमा चरेस/गाँजा बरामद गरेको घटनामा प्रहरीले तस्करलाई जोगाउन खोजेको देखिन्छ।
घटनाको भोलिपल्ट जिप्रका, पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको यो घटनामा प्रहरीले तस्करलाई जोगाउन खोजेको देखिएको छ। घटना विवरण अनुसार साउन ३१ गते राति प्रहरीले वडा नं ४ मा रहेको बिसमोहन चौधरीको घरमा छापामारी गरेको थियो। चौधरीको गोठबाट १९२ किलो चरेस, २६७ किलो गाँजाको धूलो र ३० किलो गाँजा बरामद गरेको थियो। छापामारीकै क्रममा चौधरीको घरबाट ४० वर्षीय फुलशरीफ मियाँलाई पक्राउ गरेको थियो।
पत्रकार सम्मेलनमा मियाँबाट ३० किलो गाँजा बरामद भएको र बाँकी चरेस तथा गाँजाको धूलो नजीकको बाँसबारीमा खाल्डो खनी लुकाइछिपाइ गरेको अवस्थामा फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
जबकि सो परिमाणको गाँजा/चरेस चौधरीको घरगोठबाट बरामद भएको थियो। चौधरी अहिले फरार छन्। पटेर्वासुगौलीमा बिसमोहन चौधरी र पक्राउ परेका फुलशरीफ मियाँ घनिष्ट मित्र भएको सबैलाई थाहा छ। उनीहरू दुवैजना गाँजा/चरेस तस्करीमा चर्चित हुन्। पर्सा जिल्लाको गाँजा, चरेस तस्करीमा उनीहरूको ठूलो लगानी छ।
धादिङ, मकवानपुरबाट पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्र तथा लोथर, मनहरीबाट सडक मार्गद्वारा जीतपुर ल्याउने र त्यहाँबाट पटेर्वासुगौलीमा भण्डारण गर्ने अनि भारत पठाउने कार्यमा चौधरी र मियाँको निकै सक्रियता छ।
उनीहरूले यो क्षेत्रमा लागू पदार्थको कारोबार गरिरहँदा सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पार्ने गरेको पाइन्छ। यो घटनामा प्रहरीले मियाँबाट ३० किलो गाँजा बरामद भएको देखाउनु मिलेमतोको उदाहरण भएको जानकार बताउँछन्।
चरेसमा आठ वर्ष कैद र पाँच लाख बढीको जरिवानाको व्यवस्था छ। तर ३० किलो गाँजामा भने छ महीना कैद र दुई महीना कारागारको व्यवस्था छ। यही भएर मियाँलाई थोरै कैद जरिवाना गराउने उद्देश्यले निजबाट ३० किलो गाँजा बरामद भएको देखाएर बाँकी ठूलो परिमाणको चरेस र धूलो खाल्डोबाट बरामद भएको जनाइएको हो।
स्थानीय बासिन्दाले चौधरीको घरगोठमा राखिएको गाँजा चरेस बरामद भएको र बगैंचाको खाल्डोबाट कुनै पनि किसिमको वस्तु प्रहरीले बरामद नगरेको बताएका छन्। अहिले यो घटनामा प्रहरीले मियाँको बयानको आधारमा चार/पाँचजनालाई सोधपुछको लागि पक्राउ गरेको छ तर सोसम्बन्धी सूचना भने सार्वजनिक गरेको छैन। घरधनी चौधरी फरार छन् र उनले बाहिरबाट यो घटना साम्य पार्न चलखेल गरिरहेको स्रोतले जनाएको छ।