प्रस, जनकपुरधाम, २८ साउन/

जम्बो मन्त्रिमण्डलविरुद्ध सोमवार पनि मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनकारी युवा विद्यार्थीहरूले सिटी जुलुस निकालेका थिए ।

जसपा नेपालनिकट विद्यार्थीहरूले निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको थियो । उक्त विवाद झडपमा परिणत भएको हो ।

भानुचोकबाट शुरू भएको जुलुस नगरपरिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूलगेटसम्म पुगेको थियो । मिल्स एरियामा प्रहरीले बनाएको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी अगाडि बढ्दा प्रहरीले हस्तक्षेप गरेको कारण केहीबेर झडप भएको सङ्घका धनुषा जिल्ला अध्यक्ष दीपु कापरले बताए ।

मन्त्रिमण्डल विस्तारलगायत जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूले सुरक्षा घेरा तोड्दै रेलवे लिकसम्म पुगेर प्रदर्शन गरेको समाजवादी युवा सङ्घ, जनकपुरले जनाएको छ । सङ्घीयताकै बदनाम गर्न मधेस सरकार लागिपरेको प्रदर्शनकारीहरूको आरोप  छ ।

प्रदेश सरकारविरुद्ध चरणबद्ध  प्रदर्शन गर्दै आएका युवा विद्यार्थीहरूले यस अघि कुर्सी जुलुस निकालेका थिए । झडपमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here