राधेश्याम पटेल, परवानीपुर, १० पुस/
अर्विस इन्डियाको सहयोगमा नेपालमा (रेपे्रmक्टिभ एरर एमोङ स्कूल गोइङ चिल्ड्रेन) रिच कार्यक्रम लागू भएको छ ।
सन् २०१८ देखि २०२२ सम्मका लागि प्रदेश १ र २ का चार जिल्लामा यो कार्यक्रम लागू भएको हो ।
नेपाल नेत्रज्योति सङ्घको समन्वयमा चार जिल्लाका चार वटा आँखा अस्पतालसँगको सहकार्यमा यो कार्यक्रमले नेपालका ८ लाख बालबालिकाको आँखाको निश्शुल्क स्क्रिनिङ तथा उपचार गर्ने योजना राखेको रिच कार्यक्रमका व्यवस्थापक रञ्जन साहले जानकारी गराए ।
प्रदेश २ को पर्सामा रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर, सिराहाको सगरमाथा चौधरी आँखा अस्पताल लहान, प्रदेश १ को विराटनगर आँखा अस्पताल मोरङ र मेची आँखा अस्पताल झापामा यो कार्यक्रम लागू भएको हो ।
कार्यक्रम लागू भएका जिल्लाका सम्पूर्ण स्थानीय तहमा शिक्षा प्रशासन महाशाखासँग समन्वय गरी प्रत्येक विद्यालयका १८ वर्षमुनिका स्कूले बालबालिका तथा शिक्षकहरूको समेत आँखाको स्क्रिनिङ गरी आँखामा भएको दृष्टिदोषलाई हटाउने योजना रहेको छ । रिच कार्यक्रमले प्रत्येक जिल्लामा २०–२० जनाको दरमा ८० जना स्वास्थ्यकर्मी पनि परिचालन गरिसकेको उनले बताए ।
हालसम्म प्रदेश १ र २ मा गरी करीब साढे ३ लाख बालबालिकाको आँखाको निश्शुल्क परीक्षण तथा उपचार भइसकेको जनाइएको छ ।
पर्सामा हाल वीरगंज महानगरका ३२ वटा वडामा यो कार्यक्रम लागू भएको छ । त्यसपछि अन्य नगरपालिका र गाउँपालिकामा कार्यक्रम लागू हुने केडिया आँखा अस्पतालमा खटेको रिचका सुपरभाइजर सच्चिदानन्द चौधरीले बताए ।
बालबालिका उमेरमा आँखाको कमजोरीको कारण विद्यालय जीवनमैं पढाइ छोडेर भविष्य अन्धकार हुने गरेको छ । सही समयमा आँखा उपचार भएमा समस्याको निदान हुने भएकोले शिक्षा हासिल गरी जीवन निर्वाह गर्न मदत मिल्ने केडिया आँखा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार बर्माले बताए । कार्यक्रम अन्तर्गत विद्यालयमा नै शिविर सञ्चालन गरी बालबालिकाको आँखा परीक्षण गर्ने, चश्मा आवश्यक परेका विद्यार्थीलाई निश्शुल्क चश्मा उपलब्ध गराउने र पाँच वर्षसम्मका बालबालिकाको फलोअप गर्ने कार्यक्रमको लक्ष्य छ ।