प्रस, परवानीपुर, २० साउन/
रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ सखुवाधमौरामा एकजना व्यक्तिको घरमा तीन सातादेखि पटकपटक आगलागी भइरहेको छ ।

दीपेन्द्रकुमार साहको घरमा यस्तो घटना भइरहेको छ । उनले २० भन्दा बढी दिनदेखि अचानक आगलागी भइरहेको जानकारी दिए । कुन बेला कहाँ आगो लाग्छ, यसको यकीन छैन । ढोका, दराज, ओछ्यान, पर्खाल, लत्ताकपडालगायतमा पटकपटक आगलागी हुँदा आफूहरू समस्यामा परेको बताए । उनले पूजापाठमा विश्वास गर्दै केही झाँक्री, धामीलाई समेत घरको पूजापाठ गरी बाँध्न लगाएको तर खासै उपलब्धि नभएको बताए ।

यस विषयमा सरोकारवाला निकायले छानबीन गर्नुपर्ने र आफूहरूलाई शान्तिले बाँच्न पाउने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ ।

के कारणले आगलागी भइरहेको भन्नेबारेमा अहिलेसम्म पत्ता लागेको छैन । रौतहट प्रहरी मातहतको इलाका प्रहरी कार्यालय, गरुडा एवं सखुवाधमौरा हेर्ने हर्षाहा प्रहरी चौकीले यो विषयमा अनुसन्धान शुरू गरेको छ । इप्रका, गरुडाका प्रहरी नायब उपरीक्षक रामेश्वर टवाटीले आपूmले पनि यस घटनाबारे सुनेको तर घटना बुझ्न नसकेको जानकारी गराए ।

वडा नं ७ का अध्यक्ष जगरनाथप्रसाद भेडिहरले घटना सही भएको बताए । उनले आफू पनि पीडितको घरमा गएर हेरेको र कुन बेला कसरी आगो लागिरहेको छ, थाहा नभएको बताए । अहिले सो घटनाले गर्दा स्थानीयहरू त्रसित छन् । पीडित परिवारले घरबाट फर्निचरका सामान, अन्न, लत्ताकपडा बाहिर निकालेको छ । राति परिवारका केही सदस्य जाग्राम बसेर बाँकी सदस्य सुत्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here