प्रस, सर्लाही, २० साउन/
सर्लाहीको मलङ्गवामा शनिवार बिहान ट्याक्टर दुर्घटना हुँदा पाँचजना बोलबम यात्री घाइते भएका छन् ।
मलङ्गवा नगरपालिका वडा नं १२ स्थित नहरको सडकमा ज.२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको चक्रघट्ट गाउँपालिका वडा नं ५ का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षीया छोरी सुस्मिता, सोही स्थानका ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षीया छोरी अंशुकुमारी घाइते भएका भए ।
उनीहरू सबै सोही ट्याक्टरमा सवार बोलबम यात्री रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
सीमावर्ती भारतको मढियामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । तीव्र गतिमा रहेको ट्याक्टर चालकको लापरवाहीका कारण अनियन्त्रित भई नहरमा खसेको प्रहरीको ठहर छ । ट्याक्टर चालक चक्रघट्ट गाउँपालिका वडा नं ८ औरही निवासी ३० वर्षीय रामबालक राय घटनापछि फरार छन् । घाइतेहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।