ओमप्रकाश चौधरी, सेढवा, १३ साउन/
पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूले पालिकाका आधारमा फरकफरक समयमा वर्षे बिदा दिएका छन् ।

कुनै पालिकाका सामुदायिक विद्यालयहरूमा अहिलेसम्म वर्षे बिदा शुरू भएको छैन भने कुनै पालिकामा वर्षे बिदा सकेर विद्यालय सञ्चालनमा आएका छन् । कुनै पालिकाका सामुदायिक विद्यालयहरूमा वर्षे बिदा चलिरहेको छ ।

पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयहरू वर्षे बिदापछि साउन ८ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । सो नगरपालिकामा सामुदायिक विद्यालयमा असार १६ देखि साउन ७ गतेसम्म वर्षे बिदा दिइएको थियो ।

त्यस्तै, जीराभवानी गाउँँपालिकामा पनि वर्षे बिदापछि सोमवारदेखि विद्यालय सञ्चालनमा आएका छन् । यस गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा असार १७ देखि साउन १२ गतेसम्म वर्षे बिदा दिइएको थियो ।

उता सखुवाप्रसौनी गाउँँपालिकाका विद्यालयहरूमा हालसम्म वर्षे बिदा शुरू भएको छैन । यहाँका सामुदायिक विद्यालयहरूमा अहिले प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको दीपनारायण नमूना मावि औराहा पंचगावाँका प्रधानाध्यापक शिवनाथप्रसाद महतोले बताए । यहाँका सामुदायिक विद्यालयहरूमा साउन १५ देखि भदौ ८ गतेसम्म वर्षे बिदा हुने प्रअ महतोले बताए ।
यता पोखरिया नगरपालिकाका सामुदायिक विद्यालयमा असार २७ देखि साउन २० गतेसम्म वर्षे बिदा दिइएको छ ।

यता पटेर्वासुगौली गाउँँपालिकाका सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकेर साउन १ देखि वर्षे बिदा दिइएको छ । यो पालिकाका विद्यालयहरू साउन २० देखि विद्यालय सञ्चालनमा आउने जनाइएको छ । त्यस्तै, धोबिनी र छिपहरमाई गाउँपालिकाका विद्यालयहरू सावन १ गतेदेखि बन्द गरिएका छन् । छिपहरमाई गाउँपालिका विद्यालयहरू साउन २८ गतेबाट सञ्चालनमा आउने छन् भने धोबिनीका विद्यालयहरू भदौ २ गतेबाट सञ्चालन हुनेछन् ।

ठोरी गाउँपालिकामा साउन ३ देखि २५ गतेसम्म वर्षे बिदा दिइएको छ । यता जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्षा सकेर साउन ६ गतेदेखि वर्षे बिदा दिइएको छ । यहाँका विद्यालयहरू भदौ २ गतेबाट दिउँसो कक्षा सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here