प्रस, पोखरिया, ११ साउन/
तिथिले साउन लागेसँगै पर्सा जिल्लामा माछामासुको बिक्री स्वात्तै घटेको छ ।

साउन लागेसँगै माछामासुको बिक्री घट्यो

अधिकांश हिन्दू धर्मावलम्बीले साउन महीनामा माछामासु खाँदैनन् । मितिले साउन १ गतेदेखि नै कतिपयले माछामासु खान छाडिसकेका थिए भने धेरैजसोले तिथिको आधारमा साउन ६ गतेदेखि माछामासु खान छाडेका छन् । पोखरियमा २० वटा कुखुराको मासु बिक्री गर्ने पसल छन् । साउन महीना शुरू भएपछि सातवटा बन्द भएका छन् भने अन्यमा पनि बिक्री स्वात्तै घटेको विक्रेताहरू बताउँछन् । पोखरिया बजारमा बोइलर कुखुराको मासु बिक्री गर्ने गौरीशङ्कर रौनियारले सामान्य अवस्थामा २० वटा पसलबाट २० क्वीन्टलको हाराहारीमा मासु बिक्री हुने गरेको तर अहिले भने डेढ क्वीन्टल पनि बिक्री हुन छाडेको बताए । उनले बोइलर कुखुराको मासुको दाम पनि अहिले घटेको बताए । साउन अघिसम्म साढे तीन सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने बोइलर कुखुराको मासु अहिले रु ३२० मा बिक्री भइरहेको बताए ।

यसैगरी, खसीको मासु विक्रेता सलिम मियाँले पोखरिया बजारमा मात्र दैनिक १५ भन्दा बढी खसीको मासु बिक्री हुँदै आएकामा अहिले एउटा खसी पनि बिक्री गर्न गाह्रो भएको बताए । खसीको मासु पोखरियामा छालासहित प्रतिकिलो रु आठ सय र छालारहित रु एक हजारमा बिक्री हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here