प्रस, वीरगंज, ११ साउन/
जनमत पार्टी, पर्साले नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रमा शुक्रवार प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रको मूलगेटमा ब्यानरसहित प्रदर्शन गरेपछि जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगंज वितरण केन्द्रका प्रमुखलाई पछिल्लो समय अत्यधिक गर्मी बढेको र यही बेलामा विद्युत् अनियमित तरीकाबाट कटौती भइरहेको र त्यसले आम जनतालाई सास्ती भइरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । विनासूचना विद्युत् आपूर्ति अवरुद्ध भइरहेको, भोल्टेज पर्याप्त नभएको कारण आम जनताका साथै उद्योगी–व्यवसायीहरूलाई पनि समस्या सिर्जना भएको उनले बताए । उनले प्राधिकरणका कर्मचारीहरूले विद्युत् अवरुद्ध भएपछि फोन नउठाउने र सही सूचना नदिने गरेको गुनासो गरे ।
वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले विद्युत् अवरुद्ध आफ्नो कारणबाट नभएको र यसलाई नियमित गर्नेतर्फ प्रयास जारी रहेको बताएका थिए ।
कार्यक्रममा जनमत पार्टीका विद्यालाल प्रसाद, सीमा गुप्ता, राजेश चौरसिया, राहुल रौनियार, अमरनाथ राठौर, दीपेन्द्र्र यादव, महेश चौरसिया, सुनील चौरसिया, राजनारायण मिश्र, मनोज साह, राजुराज गिरी, उदय यादव, सञ्जय साह, अञ्जना गुप्ता, रम्भा पटेललगायतको सहभागिता थियो ।