चिरञ्जीवी सापकोटा, ठोरी, ९ साउन/
पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधवार निर्मलबस्ती स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् ।
मधेस प्रदेशको आव २०८०/८१ को विनियोजित रु २५ लाख बजेटबाट उपभोक्ता समितिले निर्माण गरेको भवनको रिजालले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा स्वास्थ्य सेवा सञ्चालनको लागि ठोरी गापाका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई प्रमुख अतिथिसमेत रहेका नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजालले भवन हस्तान्तरण गरेका थिए । साथै स्वास्थ्य चौकी भवन निर्माण समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, सचिव बिन्दुमाया थिङ र कोषाध्यक्ष शिवकन्या लोप्चनलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री रिजालले ठोरीको विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै नवनिर्मित स्वास्थ्य चौकी भवनबाट जनताको स्वास्थ्य सेवामा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाजसेवी रामबहादुर श्रेष्ठले गत आवमा झैं यस आवमा पनि ठोरीको विकासमा नेता रिजालको सहयोग हुने अपेक्षा व्यक्त गरे ।
मिलन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेका, ठोरीका सभापति सन्तोष श्रेष्ठ र सहजीकरण काङ्ग्रेस सचिव भक्तबहादुर श्रेष्ठले गरेका थिए ।