सशस्त्रको कडाइले दुग्धेश्वर महादेवको मेलामा भारतीयहरूको सहभागिता कम

धर्मेन्द्र चौरसिया, पोखरिया, ८ साउन/
सीमामा तैनाथ सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको कारण पर्सा जिल्लाको रामभौरीभाठामा लागिरहेको एक महीने दुग्धेश्वर महादेवको मेला प्रभावित हुने भएको छ ।

सशस्त्र प्रहरीले यस वर्षदेखि भारतबाट आउने व्यापारीहरूलाई सामानसहित प्रवेशमा रोक लगाएको छ भने खुला सीमाबाट निर्बाधरूपमा प्रवेश हुने भारतीय सवारीसाधनहरूमा पनि कडाइ गरेपछि यस वर्ष भारतीय व्यापारी र भक्तजनहरूको सङ्ख्या मेलामा घटेको छ ।

सशस्त्र प्रहरीले भारतबाट मेलामा आउने व्यापारीहरूलाई सामानसहित आउन रोक लगाएको छ । खासगरी चिनी, मैदा, पीठोलगायतका खाद्यान्न बोकेर ट्याक्टरबाट मेलामा पसल थाप्ने उद्देश्यले आउने व्यापारीहरूलाई सामानसहित प्रवेशमा रोक लगाइएकोले अहिले थुप्रै भारतीय व्यापारी सीमा क्षेत्रमा रोकिएका छन् । उनीहरूमध्ये शुरूमा एकजना व्यापारी सामानसहित नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले ट्याक्टर र सामान वीरगंज भन्सार कार्यालय चलान गरेको थियो । यही डरले अन्य भारतीय व्यापारीहरू अहिले नेपाल प्रवेश गरेका छैनन ।

छिमेकी भारतका कङ्गाली, भेलाही, सिकटा, मैनाटार, इनर्वालगायतबाट दुग्धेश्वर महादेवको एक महीने साउने मेलामा पसल थाप्न आउँथे । यस वर्षदेखि सशस्त्र प्रहरीले कडाइ गरेपछि उनीहरू अहिले भारतीय सीमामा रोकिएका हुन् ।

यसैगरी, सशस्त्र प्रहरीले यस वर्षदेखि भारतीय सवारीसाधनहरूलाई भिस्वा नाकाबाट मात्र प्रवेश अनुमति दिएको कारण आफूअनुकूल खुला सीमाबाट सवारीसाधन लिएर प्रवेश गर्दै आएका भारतीय धार्मिक पर्यटकहरूलाई समस्या भएको छ ।

गत वर्षसम्म सीमावर्ती भारतको कङ्गालीबाट नेपालका सबैठवा, भेलाहीबाट धोरे, प्रसौनी, अमरपट्टी, सिकटाबाट भिस्वा, मैनाटा र, इनर्वाबाट प्रसौता, जानकीटोला भएर नेपाल प्रवेश गरी दुग्धेश्वर महादेवको साउने मेलामा सहभागी हुने गरेका भारतीय भक्तजनहरू यसपटक भने भिस्वा नाकाबाट मात्र प्रवेश दिइएकोले कम सङ्ख्यामा आइरहेका बुझिएको छ । भारतीय सवारीसाधनहरू ट्याक्टर, सुमो, टेम्पो, ईरिक्शा, मोटरसाइकल, जीपकार भिस्वा नाकामा सवारीसाधन दर्ता गरेर प्रवेश गराइँदैछ ।

सशस्त्र प्रहरीको सीमामा कडाइका कारण साउन ६ गते तिथि अनुसार सञ्चालनमा आएको एक महीने दुग्धेश्वर महादेवको मेलामा पसलहरूको सङ्ख्यासँगै भारतीय भक्तजनहरूको सङ्ख्यामा पनि कमी आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here