प्रस, रौतहट, ७ साउन/
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले कमिसन दिनेहरूको चेक हिजो र आज वितरण गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले नगरपालिकामा नौजना एजेन्ट राखी चेक वितरण गर्ने गरेको जनाइएको छ।

कमिसन दिनेको चेक बोलाएर दिने गरेको छ भने कमिसन नदिनेको चेक आज पनि दिइएको छैन। नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत केही कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरी निलम्बन गरेको कारण प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव ले मनोमानी चेक काटेका थिए।

काटिएका चेकको भुक्तानी आज साउन ७ गते अन्तिम म्याद रहेको थियो। कमिसन असुल्ने दाउमा चेक समयमा नदिएको कटहरिया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले बताए।
कटहरिया नगरपालिकामा कार्यरत लेखापाल उमेश यादवको अनुहार आजसम्म नगरपालिकामा नदेखिएको वडाध्यक्ष कुशवाहाले बताए।

विभिन्न शीर्षकको रकम रकमान्तर गरी प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले अनियमितता गरेको उनले बताए।

अग्रिम कमिसन दिनेको चेक लेखाफाँटमा कार्यरत करार कर्मचारी सञ्जीत साहले काट्ने गरेको थियो भने कमिसन असुल गर्न समेत माहिर रहेका साह मौलापुर नगरपालिकाबाट कमिसन लिएको आरोपमा हटाइएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here