नितेश कर्ण, सर्लाही, ३ साउन/
गर्मी र वर्षाका कारण सर्लाहीमा सर्पदंशका घटना बढेका छन्। प्रचण्ड गर्मी र वर्षाले खेतबारी तथा अन्य ठाउँका दुलाहरू पुरिएर विषालु सर्पहरू बाहिर निस्किन थालेपछि सर्पदंशका घटना बढेका हुन्।
सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा दैनिक औसत छदेखि आठजना र कहिलेकाहीं १० जनाभन्दा बढी सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन्।
यस्तै, जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित जिल्लाको एकमात्र सर्पदंश उपचार केन्द्रमा पनि दैनिक पाँच/सात जनासम्म सर्पदंशपीडित आउने गरेका छन्।
प्रादेशिक अस्पताल मलङ्गवाको तथ्याङ्क अनुसार २०८१ सालको सुरुआतसँगै गत वैशाख १ देखि असार २७ गतेसम्म महिला, पुरुष र बालबालिका गरी ४६२ जना सर्पदंशपीडितले उपचार गराएका छन्।
यसैगरी, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाखदेखि चैत मसान्तसम्म जम्मा ४७२ जना सर्पदंशपीडितले उपचार गराएका छन्।
सर्पदंश उपचार केन्द्र, नवलपुरका चिकित्सक डा सन्तोषकुमार साहका अनुसार वर्षाको मौसममा सर्पहरू बढी निस्कने भएकाले जेठदेखि असोजसम्म सर्पदंशका बिरामी बढी सङ्ख्यामा आउने गरेको बताए।
अरू बेला फाट्टफुट्ट मात्र आउने तर वर्षा लागेपछि दैनिकजसो सर्पले टोकेका अथवा टोकेको भन्ने शङ्का लागेका मानिसहरू उपचार केन्द्रमा आउने गरेका डा साहले बताए।
सर्पदंश उपचार केन्द्रमा गम्भीर अवस्थाका बिरामीहरूका लागि आइसियू र भेन्टिलेटर हुँदाहुँदै पनि चलाउने दक्ष जनशक्तिको अभावका कारण गम्भीर किसिमका बिरामीहरूलाई जनकपुर, वीरगंजलगायतका सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको डा साहले बताए।
नवलपुरको सर्पदंश उपचार केन्द्रमा लालबन्दीसहित ईश्वरपुर, हरिवन, हरिपुर, बाग्मती नगरपालिका र महोत्तरीको बर्दिबास तथा आसपासका बिरामीहरू आउने गरेका छन्।
सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा मलङ्गवासहित कौडेना, चकरघट्टा, बसबरिया, ब्रह्मपुरी, पर्सा, चन्द्रनगर गाउँपालिका तथा गोडैता र कविलासी नगरपालिकासम्मका सर्पदंशका बिरामी आउने गरेका छन्।
मलङ्गवादेखि मात्र दुई किलोमिटरको दूरीमा भारतका बस्तीहरूबाट पनि उपचार गराउन आउने गर्छन्। प्रादेशिक अस्पतालमा आउने सर्पदंशका सातजना बिरामीमध्ये पाँचजना भारतीय हुने गरेका उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
सर्पले टोक्नेबित्तिकै कुनै अलमलमा नपरी समयमा उपचार गराउन आउने ९५ प्रतिशतभन्दा बढी बिरामी निको हुने गरेका छन् तर सर्पले टोकेपछि स्वास्थ्य उपचार नगराइ झारफुकको लागि धामी झाँक्रीकहाँ जाने र स्वास्थ्य अवस्था नाजुक भएपछि मात्रै अस्पताल आउने बिरामीलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको चिकित्सकहरू बताउँछन्।
पुरानो रूढिवादी परम्परा र अन्धविश्वासका कारण अझै पनि तराई–मधेसका गाउँघरमा सर्पदंशका बिरामीलाई अस्पताल पु–याउनुको साटो झारफुक गराउन धामी–झाँक्रीकहाँ लाने गरिएको छ।
खेतमा काम गर्दा, घाँसपातको काम गर्दा र घरमा शौचालय नहुँदा अँध्यारोमा दिसापिसाब गर्न बाहिर निस्कँदा सावधान रहन चिकित्सकहरूको सुझाव छ।
सर्लाहीमा यतिबेला ढोडिया, धामन, हरहरालगायत विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप)जस्ता विषालु सर्प छ्याप्छ्याप्ती देखिने गरेका छन्।