प्रस, वीरगंज, ३ साउन/
जिल्ला प्रहरी कार्यालय, बाराले आव २०८०/८१ को घटना विवरण सार्वजनिक गरेको छ। प्रहरी तथ्याङ्क अनुसार महिलासम्बन्धी उजूरीको सङ्ख्या घटेका छन् भने आत्महत्याका घटनामा वृद्धि भएको छ।
आव २०८०/८१ मा ६८ महिला, ६४ पुरुष, सात बालक र २४ बालिकाले आत्महत्या गरेका छन्। आव २०७९/८० मा ४६ महिला, ४९ पुरुष, आठ बालक र ३६ बालिकाले आत्महत्या गरेका थिए भने २०७८/७९ मा महिला ४७, पुरुष ४६, बालक आठ र बालिका २० जनाले आत्महत्या गरेका प्रहरी तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै, आव २०७८/७९ मा दुई हजार २१३ उजूरीमध्ये एक हजार ४५० मिलापत्र भएका छन् भने २०७९/८० मा दुई हजार १४४ उजूरीमध्ये एक हजार ६६६ मिलापत्र भएका छन्। आव २०८०/८१ मा एक हजार ९३६ उजूरीमध्ये एक हजार ७५० उजूरी मिलापत्र भएको तथ्याङ्क छ।
आव २०८०/८१ मा दुई हजार ५४ किलो गाँजा, ४५ किलो २३ ग्राम चरेस, र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यस्तै, आव २०७८/७९ मा दुर्ई करोड ४३ लाख ८९ हजार, २०७९/८० मा १२ करोड ६१ लाख र २०८०/८१ मा ५७ करोड ४० लाख ३५ हजार सङ्कलन गरिएको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ। यी प्रतिवादीबाट ७९ वर्ष तीन महीना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार २८८ रुपियाँ जरिवाना सङ्कलन गरिएको छ। आव २०८०/८१ मा एक हजार ३२२ मुद्दा दर्ता भएका र एक हजार ३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ। यसै अवधिमा ९२ वटा लागूऔषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेका छन्।
प्रहरीले सातवटा हतियार र २० राउन्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
उनका अनुसार अवैध आर्थिक कारोबार (हुन्डी)सम्बन्धी चारवटा मुद्दा दर्ता गरी आठजनालाई पक्राउ गरी ३८ लाख नौ हजार रुपियाँ बरामद गरिएको छ। सवारीसाधन ट्राफिक कारबाई अन्तर्गत ३४ हजार २८५ वटा सवारीलाई कारबाई गरी दुई करोड ९७ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको जिप्रका, बाराले जनाएको छ।