नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले नेपाली काङ्ग्रेस खुला एवं उदार अर्थतन्त्रको पक्षपोषक भएको बताएका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घले बुधवार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेका निजी क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए।
नेकाले उद्योग, व्यापार, बैंकसम्बन्धी अपारदर्शी नीति एवं कर, राजस्व, भन्सारसम्बन्धी नीतिगत जटिलतालाई निरूपण गर्दै जाने उनले बताए। नेता डा कोइरालाले नेकाले निजी क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता पनि जाहेर गरे। उनले भने–“उद्योगी–व्यवसायीहरूका समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको छु र निजी क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछु।”
वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा र बारामा अवस्थित उद्योग–व्यापारको अवस्था खस्किंदै गएको, निजी क्षेत्रले भोगिरहेका प्रशासनिक एवं प्रक्रियागत जटिलताबारे नेता डा कोइारालाको ध्यानाकर्षण गराएका थिए। उनले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अनेकानेक नियमनकारी निर्देशिका र नीतिगत जटिलताका साथै कर, राजस्व, भन्सारसम्बन्धी अपारदर्शी एवं अव्यावहारिक ऐन नियमका कारण आर्थिक क्रियाकलाप निरन्तर खस्किरहेको बताए। उनले नेता डा कोइरालालाई यी नीतिगत समस्याहरूलाई समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरे।
कार्यक्रममा नेउवासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका पूर्वअध्यक्ष एवं पूर्व नगरप्रमुख विजयकुमार सरावगी, ओमप्रकाश सिकरिया, उपाध्यक्ष माधव राजपालले उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र कर, भन्सार तथा राजस्वका विभिन्न समस्याहरूका बारेमा नेता डा कोइरालाको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि सम्बन्धित पक्षमा पहल गर्न अनुरोध गरेका थिए। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन र सञ्चालन मनोज उपाध्यायले गरेका थिए।