प्रस, सेढवा, १५ असार/

जीराभवानी गाउँँपालिका–३ मा नगरस्तरीय कृषि तथा पशुपक्षी सेवा केन्द्रको भवनको शिलान्यास गरिएको छ। गापाध्यक्ष अनोज चौधरीले भवनको शिलान्यास गरेका थिए। ग्रामीण उद्यम विकास आयोजना अन्तर्गत सो भवन दुई करोड ४६ लाख ४८ हजारको लागतमा निर्माण हुन लागेको हो। कृषि तथा पशुपक्षी सेवा केन्द्रबाट किसानहरूले कृषि कार्यका लागि माटो परीक्षणदेखि पशुपक्षी प्रयोगशालासहित सेवाप्रवाह हुने बताइएको छ।

कृषि भवनमा सञ्चालन गरिने कृषि ल्याबबाट कृषकको खेतको माटो परीक्षण, बालीमा लाग्ने रोग र कीराको जाँच र पहिचान, पशुपक्षीको मलमूत्र र रगतको परीक्षण, बालीमा लाग्ने रोगको परीक्षण गरी उपचार गर्ने सेवाहरू प्रवाह गरिने अध्यक्ष चौधरीले बताए।

भवन निर्माणको ठेक्का सिएम कन्स्ट्रक्शन, काठमाडौंले सकार गरेको छ र आगामी वर्ष जेठ ३ गते निर्माण कार्य सम्पन्न हुने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि सुलभ राउतले बताए।

यसैगरी, पटेर्वासुगौली गापामा पनि सोही कार्यक्रम अन्तर्गत नगरस्तरीय कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माणको लागि शिलान्यास भएको छ। गापाध्यक्ष दिनेशकुमार चौधरीले शनिवार भवनको शिलान्यास गरेका थिए।

सो भवन रु दुई करोड ४८ लाख ११ हजारको लागतमा अत्याधुनिक कृषि प्रयोगशालासहित निर्माण हुने बताइएको छ। यस भवनको ठेक्का पनि सिएम कन्स्ट्रक्शनले सकार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here