सखुवाप्रसौनी गाउँपालिकाको सोमवार बसेको १३औं गाउँसभाले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ।
गापा उपाध्यक्ष् शर्मिला विष्टले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई गापाले प्राथमिकतामा राखेको बताइन्। उनले कुल सशर्त अनुदान २१ करोड ६२ लाख ४२ हजार, समपूरक अनुदान एक करोड ५० लाख, आन्तरिक स्रोत ९० लाख १४ हजार ४५६, कुल वित्तीय समानीकरण ११ करोड ८९ लाख दुई हजार र राजस्व बाँडफाँटबाट १० करोड ९७ लाख प्राप्त हुने जानकारी गराइन्।
गापा अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा भएको गाउँसभामा वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियारले स्वागत गरेका थिए।