माधव तिमिल्सिना, ठोरी, १० असार/

चालू आव २०८०/८१ को तुलनामा आगामी आव २०८१/८२ मा ठोरी गाउँपालिकाको बजेट झन्डै रु ११ करोड ४९ लाखले कम भएको छ। चालू आवमा रु ५८ करोड ५४ लाख बजेट रहेको ठोरी गापाले आगामी आवको लागि हिजो रु ४७ करोड पाँच लाख ३३ हजारको बजेट विनियोजन गरिएको घोषणा गरेको छ।

ठोरी गापाको कार्यालय घ्याङडाँडामा आइतवार सम्पन्न ११औं गाउँसभामा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले आगामी आव २०८१/८२ को लागि रु ४७ करोड पाँच लाख ३३ हजारको बजेट विनियोजन गरिएको बताइन्। उनले आगामी आवमा आर्थिक विकासतर्फ कृषि, पर्यटन र जलस्रोत तथा सिंचाइमा ३० प्रतिशत, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र खानेपानीमा २५ प्रतिशत, पूर्वाधारतर्फ यातायात, भवन आवास तथा शहरी विकासमा ३० प्रतिशत, सुशासनतर्फ अन्तरसम्बन्धित क्षेत्र  विपत् व्यवस्थापनमा पाँच प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकमा १० प्रतिशत हुनेगरी बजेट विनियोजन गरिएको बताइन।

विनियोजन विधेयक अघि पर्सा जिल्ला समन्वय समितिकी सदस्य सुशीला विकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गापा अध्यक्ष लालबहादुर श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आवमा दूध उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, एक वडा एक कृष्ीि सहकारी, वडा नं ४ को मालीबस्तीमा मानवनिर्मित ताल, विद्यार्थी छात्रवृत्ति, प्रत्येक वडामा अङ्ग्रेजी माध्यमको विद्यालय सुरुआत गरिने घोषणा गरेका थिए। यसैगरी, वडा नं २ को विकट गाउँ इच्छानगरमा स्वास्थ्य चौकी, ठोरी कुष्ठरोग/टिबी रोग मुक्त घोषणा, नागरिकको खानेपानीमा पहुँच बढाउने, स्पोट्र्स एकेडेमी स्थापना, विद्युत् नपुगेका गाउँमा विद्युत् लैजाने, अधूरो हुलाकी सडक निर्माणमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउने, दुर्घटना न्यूनीकरणको लागि सडकमा सिसिटिभी जडानलाई निरन्तरता दिने, एक वडा एक उत्पादन कार्यक्रमलगायतलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गापाध्यक्ष श्रेष्ठले बताए।

कार्यक्रममा नेका ठोरीका सभापति सन्तोष श्रेष्ठ, एमालेका अध्यक्ष खगेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका उपाध्यक्ष रोशन सुनारले गाउँसभा सफलताको शुभकामना व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here