जगरनाथपुर गाउँपालिकाको सोमवार आयोजित ११औं गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ।
गापाध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवं नेका पर्साका सभापति जनार्दनसिंह क्षत्रीको प्रमुख आतिथ्यमा भएको गाउँसभामा आगामी आव २०८१/८२ को लागि नीति तथा कार्यक्रमसहित रु ४४ करोड ३४ लाख २३ लाखको बजेट प्रस्तुत गरिएको थियो।
गापाध्यक्ष यादवले आगामी आवको बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा विकास निर्माण कार्यमा रु तीन करोड ९० लाख, आर्थिक विकास अन्तर्गत कृषि तथा पशु विकासका लागि रु ९९ लाखको अनुमानित खर्च विनियोजन गरिएको बताए। यसैगरी, सामाजिक विकासतर्फ शिक्षामा रु दुई करोड ७० लाख, स्वास्थ्यमा रु ९२ लाख, खानेपानी तथा सिंचाइमा रु एक करोड ८४ लाख, खेलकूदमा रु ३७ लाख, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षामा रु ५८ लाख, वन तथा विपत् व्यवस्थापनमा रु ३८ लाख, सोलार बत्ती जडानमा रु ८५ लाख विनियोजन गरिएको बताए।
त्यस्तै, मठमन्दिर, मस्जिद, सांस्कृतिक सम्पदा जगेर्नामा रु तीन करोड नौ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तथा कर्मचारीको तलबभत्तामा रु १० करोड ८८ लाख अनुमानित खर्च हुने जानकारी गराए। सङ्घ सरकारको सशर्त चालूतर्फ रु १५ करोड ८४ लाख, पूँजीगततर्फ रु ९० लाख, समपूरक अनुदान रु २० लाख, विशेष अनुदान रु ५० लाख, प्रदेश सरकारको समपूरक अनुदान रु २० लाख, विशेष अनुदान रु ३० लाख गरी जम्मा रु ४४ करोड ३४ लाख २३ हजारको बजेट विनियोजन गरिएको अध्यक्ष यादवले बताए।
उनले सबै वडालाई जोडने गरी रिङरोड बनाउने र १५ शøयाको अस्पताल निर्माणको योजना पनि रहेको बताए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्दन रायसहित लक्ष्मी साह तेली, नेपालीप्रसाद कुशवाहा, सुवास यादव, प्रभुनाथ नुनिया, बिहारी महतो नुनिया, अयोध्याप्रसाद कुर्मीलगायतको सहभागिता थियो।