मधेस प्रदेशमा गर्मी उपद्रो किसिमले बढ्ने क्रम जारी छ। बर्सेनि गर्मीले उपद्रो मच्याउँदै आएको छ तर यसपटक पछिल्ला सबै रेकर्ड ब्रेक गर्दै गर्मी बढेको महसूस गरिएको छ। गर्मी मधेस प्रदेशका आठ जिल्लासहित तराईका २२ जिल्लाको लागि नौलो होइन। तर केही वर्षदेखि देशका पहाडी जिल्लामा पनि गर्मी बढ्दो छ। गर्मीले अहिलेसम्म नसताएको हिमाली क्षेत्र मात्र हो। समयमा वर्षा नभएपछि गर्मी बढी महसूस हुन्छ र अहिले त्यस्तै भएको छ। वर्षा भएको भए गर्मी त्यत्तिको महसूस हुँदैन थियो। समयमा वर्षा नभएरै होला बितेका वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी भएको महसूस गरिंदैछ। बढ्दो गर्मीको कारण अहिले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएका छन्। अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन निकै प्रभावित भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले यस अघिदेखि नै यस वर्ष तुलनात्मकरूपमा अचाक्ली गर्मी बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ। गर्मी बढेको कारण घरबाहिर ननिस्कन, निस्कनै परे टाउकोमा कपडा राखेर निस्कन, सुतीको पातलो कपडा लगाउन र पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउन चिकित्सकहरूले सुझाउँदै आएका छन्।

असारको दोस्रो साता चलिरहेको छ र यस अवधिमा पनि वर्षा हुन नसकेको कारण गर्मी घट्ने नामै लिइरहेको छैन। अहिलेसम्म मधेस प्रदेशका आठ जिल्लामा ४१ डिग्री सेल्सियससम्म तापक्रम मापन भइसकेको छ। पर्सामा पनि ४१ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको र यो यहाँको लागि अहिलेसम्मकै उच्च हो। करीब ४५ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। गत वर्ष यो अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको छ। गर्मी बढेसँगै विभिन्न रोगका प्रकोप पनि बढ्न थालेका छन्। वर्षा नभएर बढ्दो गर्मीसँगै अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीहरूको चाप बढ्ने क्रम जारी छ। यस अवधिमा बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो लाग्ने, टाउको दुख्ने जस्ता रोगका प्रकोप बढेका चिकित्सकहरू बताउँछन्। प्रचण्ड गर्मी बढने क्रमसँगै पर्सा जिल्लाका विद्यालयहरू दुईपटक बन्द भए। करीब दुई दशक अघिसम्म गर्मीयाममा यहाँका विद्यालयहरू डेढ महीनाका बन्द हुन्थ्ये। यसैगरी, जाडोमा आधा महीना बन्द हुन्थ्ये। यसैगरी, गर्मी कम हुने र जाडो अत्यधिक हुने पहाड तथा हिमाली जिल्लामा भने चीसोमा डेढ महीना विद्यालय बन्द हुन्थ्यो। अहिले भने अत्यधिक गर्मी भएपछि र अत्यधिक चीसो भएपछि वार्षिक बिदाबाट कट्टा हुनेगरी बिदाको क्यालेन्डर बनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा बर्सेनि जून १३ देखि मनसुन भित्रिने गरेकोमा यसपटक तीन दिनअगावै मनसुन भित्रिएको जनाएको छ। तर मनसुन अहिलेसम्म मधेस प्रदेशमा आइपुगेको छैन। मनसुन भित्रिएको करीब दुई साता पुग्न लागिसक्दासमेत मधेस प्रदेश र तराईका २२ जिल्लामा यसको कुनै असर नदेखिएको कारण गर्मीको कहर बढी नै रहेको छ। बादल लाग्ने र क्षणिक वर्षा हुने गरेकोले गर्मी झनै बढेको छ। जमीन भित्रैसम्म भिज्ने गरी एकाध घण्टा पनि मुसलधार पानी पर्न सकेको छैन। ५–१० मिनेट मात्र पानी पर्दा तातिएको जमीनबाट बाफ निस्केर जनजीवन झनै कष्टकर बनेको छ। यसबाट मुक्ति पाउनका लागि वर्षा जमेर हुनुको विकल्प देखिन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here