जीराभवानी गाउँपालिकाले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गापा कार्यालयमा आयोजित कार्यक्रममा आइतवार उपाध्यक्ष रेखा चौधरीले आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन्। उनले जीराभवानी गापाले शिक्षा, कृषि, स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताइन्। गुणस्तरीय शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप गरिने योजना रहेको उनले बताइन्। पालिकामा विद्यालयबाहिर रहेका सबै जातजाति, धर्म तथा समुदायका बालबालिकाहरूलाई शिक्षामा अनिवार्य पहुँच गराउने नीति रहेको प्रस्ट्याइन्। उनले विद्यार्थीहरूको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी गुणस्तरीय शिक्षा प्रदान गरिने गापाको नीति रहेको बताइन्।
उनले आगामी आवमा किसानहरूलाई विभिन्न किसिमका खेती गर्न सहज हुने गरी नीति तथा कार्यक्रममा योजनाहरू समावेश गरिएको बताइन्। बढ्दो खडेरीका कारण किसानहरूले सिंचाइका लागि दमकल प्रयोग गर्दा बढी खर्च भएकोले गापाले विद्युतीय सिंचाइलाई प्राथमिकता दिने बताइन्। उनले आगामी आवमा गापाले सिंचाइ व्यवस्थाको लागि नदी, खोलामा साना सिंचाइ आयोजना सञ्चालन गर्ने बताइन्। उनले गापामा सुकिरहेका पानीको मुहानको संरक्षण र संवद्र्धनका लागि पनि काम गरिने बताइन्। उन्नत पशुपालनका साथै पशु र बाली बीमा कार्यक्रम ल्याउने र गोठ तथा भकारी सुधार कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष चौधरीले बताइन्। उनले आगामी आवमा पालिकाका पाँचवटै वडामा कृषि सडक निर्माण गरिने नीति रहेको जानकारी गराइन्।
गापाका बिरामीहरूलाई सस्तो दरमा एम्बुलेन्स सेवा र सुत्केरीका लागि निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको र यसलाई आगामी आवमा पनि निरन्तरता दिइने बताइन्। यसका साथै आगामी आवमा पनि चालू आव सरह रक्तसञ्चार केन्द्रबाट गापावासीलाई आवश्यक रगत निश्शुल्क उपलब्ध गराइने बताइन्। उनले गापाको पर्यटन विकासका लागि जीराभवानी, लाटोमाई, सुगीभार मन्दिरलाई थप विकास गर्ने कार्यक्रम रहेको बताइन्। यसका साथै आगामी आवमा भ्यूटावर निर्माण गरिने जानकारी गराइन्। गापाका विभिन्न वडाहरूमा सडक विस्तार गर्दै ३० फिटको सडक बनाउने, सार्वजनिक जग्गाहरूमा वृक्षारोपण गरिने र विपत् व्यवस्थापनमा पनि पूर्वतयारीका साथ गम्भीरतापूर्वक लागिपर्ने बताइन्। उनले आगामी आवका लागि अनुमानित ४५ करोड ८० लाखको बजेट विनियोजन गरिएको बताइन्। गापाध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, शिक्षा अधिकृत शिवराज फुयाँल, कृषि प्रमुख जीतेन्द्र मिश्रलगायतको सहभागिता थियो।