कास्की, ८ असार/रासस

गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ। कास्कीले लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो।

प्रदेश खेलकूद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की सङ्घको व्यवस्थापनमा हिजो र आज सञ्चालन भएको प्रतियोगितामा बागलुङलाई ३–० गोलले पराजित गर्दै कास्कीले उपाधि जितेको हो। गत वर्ष पनि तनहुँलाई पराजित गरी कास्कीले उपाधि जितेको थियो।

उपाधि विजेता कास्कीले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता बागलुङले रु १५ हजार प्राप्त गरेको छ।

यसैगरी, तनहुँलाई १–० गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको स्याङ्जाले रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो। विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई भारतीय पेन्सन क्याम्प पोखराका चिकित्सक मेजर डा आश्विन नारायणकार, नेपाल–भारत मैत्री विद्यालयका प्रधानाध्यमक मिथुन जय, सहायक प्रअ अशोक गुरुङ, नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

१०औं राष्ट्रिय खेलकूदको तयारीस्वरूप प्रतियोगिताको आयोजना गरिएको सङ्घ कास्कीका अध्यक्ष गुरुङले बताए। प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरेर १०औं राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेशको टोली निर्माण गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here