राष्ट्रिय स्वतन्त्र पार्टीका सामाजिक सङ्गठन सचिव शङ्कर श्रेष्ठले भ्रष्टाचारशून्य शासन व्यवस्थाको मूलमन्त्र लिएर आफ्नो पार्टी अगाडि बढेको बताएका छन्।
शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको दोस्रो स्थापना दिवसको अवसरमा उनले पुराना राजनीतिक दलहरूप्रति नागरिकको निराशा बढ्दै गएकाले सोको विकल्पको रूपमा रास्वपा आएको बताए। उनले रास्वपा सरकारमा सहभागी भएर जनताको काम गरिरहेको बताए। उनले रास्वपाका मन्त्रीको काम देखेर विपक्षीहरू अत्तालिएको दाबी गरे।
रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा नन्दन यादव, प्रदेशसभा सदस्य श्याम पटेल, नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्री, उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा विश्वम्भर शर्मा, सचिव महेश दास, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलम, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्वअध्यक्ष गोपाल केडियालगायतको सहभागिता थियो।