बलिराम शुक्ला, बिरुवागुठी, ६ असार/

नेपाल सरकार र विश्व बैंकको लागत साझेदारीमा पर्साको ग्रामीण भेगको थरुहट सडक निर्माणसम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा पर्सागढी नपाको सभाहलमा बसेको सरोकारवालाहरूको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका सामाजिकविज्ञ रामबाबू पासवान, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यालयका वातावरणविज्ञ सरोज श्रेष्ठलगायतको सहभागिता थियो।

पर्सागढी नपा–३ बिरुवाचोक हुँदै बर्वाटाँडी, हरपुर, रमौली, एकटाँगा हुँदै जीराभवानी गापाको बलुवा गाउँसम्म करीब २८ किलोमिटर नालासहितको कालोपत्रे सडक निर्माण सम्बन्धमा पर्सागढीका सरोकारवालाहरूसँग पहिलो चरणको छलफल भएको हो।

छलफलमा सडक निर्माण हुने स्थलमा कसैको जग्गा परेको खण्डमा स्वेच्छिक जग्गादान गर्नुपर्ने, जसको मुआवजा नपाइने, वातावरणलाई ध्यान दिई सडक निर्माण गर्नुपर्ने र सडक निर्माण गर्दा विभिन्न ठाउँमा शौचालयसहितको प्रतीक्षालय निर्माण गर्नुपर्ने र स्थानीय सरकारले सडक निर्माणमा सहज वातावरण बनाउन स्थानीयहरूसँग मध्यस्थता गर्नुपर्नेलगायतका निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका सामाजिकविज्ञ पासवानले बताए।

नगरप्रमुख पाठकले थरुहट सडक निर्माणले पर्साको ग्रामीण भेगकै मुहार फेरिने बताए। उनले यस्ता ठूलो योजनाबाट ग्रामीण भेगका लाखौं जनता लाभान्वित हुने हुँदा निर्माण कार्यमा कसैले पनि विवाद नगर्न अनुरोध गरे। उनले निर्माण कार्यमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। बैठकमा थरुहट सडकसँग जोडिएका पर्सागढीका स्थानीयवासीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here