लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा पर्साका ग्रामीण भेगमा भूमिगत पानीको सतह घट्दै गएको छ। यस क्षेत्रका कतिपय पानीका मुहान सुकेका छन् भने कतिपय पानीका स्रोतमा पानी कम भएको छ। विगत केही वर्ष पहिले ग्रामीण बासिन्दाहरूले खानेपानीका लागि स्वतः पानी आउने आर्टिजेन धाराहरू जडान गरेकामा
अहिले ती धाराहरू पनि सुकेका छन्। जसका कारण सर्वसाधारणहरूले स्वतः पानी आउने पाइपमा चापाकल जडान गरेका छन्। यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयका जङ्गलमा पनि पानीका मुहानहरू सुकेका छन्।
कात्तिकदेखि हालसम्म राम्ररी वर्षा नहुँदा किसानहरूले पनि समस्या झेलिरहेका छन्। अहिले किसानहरू चैते धानबाली, मकैबाली, सुर्तीबाली तथा विभिन्न किसिमका तरकारीबालीलाई सिंचाइ गर्दागर्दै हैरान भएका जीराभवानी गापा–१ शान्तिनगरका चक्रबहादुर श्रेष्ठले बताए। कतिपय किसानले भूमिगत सिंचाइको भरमा चैते धानबाली भित्र्याउने गरेका छन् भने अधिकांश किसानले लगाएका चैते धानबालीको बाला निस्किने समयमा पानी नपर्दा हरेक तीन दिनमा बोरिङबाट सिंचाइ गर्नुपरेको श्रेष्ठले दुःखेसो पोखे।
सखुवाप्रसौनी गापा–२ का किसान अजित दासले पानी नपरेको कारण यस क्षेत्रमा रहेका अधिकांश स्वचालित धारा सुकेको बताए। कतिपय पानीका मुहान सुकेर कुलो सुक्खा बनेको दासको भनाइ छ। त्यसमा पनि किसानहरूले लगाएका विभिन्न बालीमा सिंचाइ गर्न भूमिगत सिंचाइ अर्थात् दमकलको प्रयोगले गर्दा भूमिगत पानीको सतह झनै घट्दै गएको दासले बताए।
पानी नपरेर कतिपय बोरिङ सुकेका छन्। ठोरी गापा–५ का अध्यक्ष अष्ठबहादुर लोप्चनले भूमिगत पानीको सतह तल गएपछि यस क्षेत्रका बोरिङ सुकेको बताए। नसुकेका बोरिङबाट दमकल तथा वाटरपम्पले पानी तान्न नसक्दा १२–१५ फिट गहिरो इनार बनाइ दमकल वा वाटरपम्प जडान गरी पानी तान्ने गरिएको वडाध्यक्ष लोप्चनले बताए।