बन्दी सुधारगृह (वीरगंज कारागार)मा कैदीबन्दीभन्दा थुनुवाको सङ्ख्या बढी रहेको छ। बन्दी सुधारगृह वीरगंजका प्रमुख विनय श्रीवास्तवले कारागारमा महिला र पुरुष कैदीहरूमध्ये थुनुवाहरूको सङ्ख्या बढी रहेको बताए।
उनले पुरुष बन्दीगृहमा ६७१ जना कैदीबन्दी रहेका र अदालतबाट पुर्पक्षका लागि थुनामा रहेकाको सङ्ख्या ७३३ रहेको बताए। यसैगरी, महिलातर्फ ३१ जना कैदीबन्दी रहेका र ३२ जना पुर्पक्षका लागि थुनुवामा रहेको उनले जानकारी गराए। उनले महिला र पुरुष कैदीबन्दी थुनुवाहरूको सङ्ख्या सुधारगृहको क्षमताभन्दा बढी रहेको बताए।
बन्दी सुधारगृह वीरगंज कारागार पुरानै संरचनामा छ र पछिल्लोपटक यसको क्षमता विस्तार भएर एक हजारजना कैदीबन्दी राख्नुपर्नेमा पुरुषतर्फ ४०० कैदीबन्दी र थुनुवाहरू बढी छन्। उनीहरूको बसाइ अहिले गर्मीमा निकै कष्टकर छ। एक हजार क्षमताको बन्दीगृहमा चार सयभन्दा बढी कैदीबन्दी र थुुनुवाहरू भएकाले बस्नलाई समस्या भएको प्रमुख श्रीवास्तवले बताए। मरम्मतसम्भार गरेर बन्दीगृहमा रहेका पुरुषतर्फको सातवटा ब्लक सञ्चालनमा रहेको र त्यसमा क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवाहरू हुँदा गर्मीयाममा समस्या भएको बताए। उनले कारागारतर्फबाट सातवटा ब्लकमा ४० वटा पङ्खा जडान भएको र ठूलो सङ्ख्यामा कैदीबन्दी र थुनुवाहरूले आफैं पङ्खा ल्याउने र थुनामुक्त भएपछि लिएर जाने गरेको उनले बताए।
कैदीबन्दी र थुनुवाहरूले आफैं ल्याउने पङ्खाको सङ्ख्या २१० भन्दा बढी रहेको प्रमुख श्रीवास्तवले जानकारी गराएका छन्। बन्दीगृहमा नयाँ र पुराना गरी ५१ वटा शौचालय रहेका र मौजुदा अवस्थामा सो पर्याप्त रहेको उनले बताए। पुरुषतर्फको यो अवस्था छ भने महिलातर्फ ४० जना क्षमतामा अहिले ६३ जना कैदीबन्दी र थुनुवाहरू छन्। एउटा मात्र ब्लक रहेको महिलातर्फ भने खासै समस्या नरहेको उनले जानकारी गराए।
बन्दी सुधारगृह वीरगंज कारागारमा सबैभन्दा धेरै लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी र थुनुवाहरू रहेका प्रमुख श्रीवास्तवले बताए। महिला र पुरुष दुवै ब्लकमा लागूऔषधसम्बन्धी मुद्दामा सजाय भोग्नेहरूको सङ्ख्या बढी रहेको उनले बताए।