आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्रान्ड किङ्स्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो। नेपालले खेलको आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए।
त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए। त्यसपछि नेपालले तेस्रो विकेटका रूपमा अनिल शाहलाई गुमायो। अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए। आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए।
नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए। अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए।
ओपनर आसिफलाई नेपालले पाँचौं विकेटको रूपमा गुमाएको थियो। आसिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए। दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्के। गुलशन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो। उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए। कुल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मदतमा २७ रन बनाए भने आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे। क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे। नेपालले समूह चरणको आप्mनो अन्तिम खेल यही असार ३ गते सोमवार बङ्गलादेशसँग खेल्नेछ।