प्रस, वीरगंज, १ असार/

प्युठान जिल्लाको ऐरावती गाउँपालिका–१ स्थित दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको शुक्रवार ऐरावती गापाध्यक्ष नविलविक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरूपमा शिलान्यास गरेका छन्।

कार्यक्रममा बोल्दै ऐरावती गापाध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु–याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।

प्यूठानको ऐरावती गाउँपालिकास्थित दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ भवन एवं छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पु–याउने उनले बताए।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको तीन करोड ३९ लाख आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिने छ। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवं छात्रावास भवन निर्माणमा उपयोग गरिने छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। यस परियोजनाको कार्यान्वयन ऐरावती गापा प्यूठानमार्फत गरिने छ। यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण उदाहरण भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here