पोखरिया नगर विकास समितिको कामकारबाईविरुद्ध स्थानीयले बिहीवार प्रदर्शन गरेका छन्। मनोहर गुप्ताको नेतृत्वमा निकालिएको विरोध जुलुसले नगरपरिक्रमा गर्दै पोखरिया नगरपालिका कार्यालयअगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो।
पोखरिया नपाले केही समयदेखि नगर विकास समितिको जग्गा छुट्याउने काम शुरू गरेको र अहिले एक साताभित्र सो जग्गा छुट्याउनका लागि जग्गाधनीहरूको नाममा सूचना प्रकाशित गरेको विरोधमा आज प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले नगर विकास समितिले ७०/३० को मापदण्ड पालना नगरेको, निस्सा प्रमाण नदिएको भन्दै सोको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूले समितिले जग्गा अधिग्रहण गर्दा ७० प्रतिशत जग्गाधनीलाई फिर्ता गर्नुपर्ने र ३० प्रतिशत समितिले अधिग्रहण गर्ने नियमविपरीत कसैसँग ६०/४०, कसैसँग ५०/५० को नीति अवलम्बन गरेर भेदभाव गरेको गुनासो गरेका थिए।
यसैगरी, उनीहरूले अधिग्रहण गरेको लामो समय बितिसक्दा पनि अहिलेसम्म निस्सा प्रमाण नदिएको र अधिग्रहणमध्ये एकजना व्यक्तिको नौ बिघा जग्गा अहिलेसम्म समितिले अधिग्रहण सूचीमा राखेर पनि कार्यान्वयनमा नल्याएको भन्दै यी सबै बेथितिविरुद्ध आपूmहरूले आन्दोलन गरेको गुप्ताले बताए।